काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरी कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बदलिँदो समयसंगै सबै कुराहरुलाई रूपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे । सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रीत गरेर सेवाग्राहीको बढि रुचाईएको बैंक बनाउन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताए । उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैंकका हरेक गतिविधिलाई सूचना प्रविधिसंग जोड्दै लैजाने दावी गरे।