लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरुसंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयाँ नियमबारे अन्तरक्रिया आयोजना गरेको छ । लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’को आयोजनामा १ डिसेम्बरका दिन भर्चुअल अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा लन्डनस्थित ल फर्म वान पम्प कोर्टसँग आवद्ध ब्यारिष्टरहरु जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयाँ परिवर्तित नियम सम्बन्धमा स्पष्ट पारेका थिए । एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले स्वागत गर्दै ब्यारिष्टरहरुको परिचय दिएका थिए ।
गत १३ वर्षदेखि सञ्चालनमा रहेको उक्त फर्ममार्फत अहिलेसम्म गोर्खा सन्तानका मुद्दाहरु झन्डै ९० प्रतिशत सफल गरि करिब सात हजार गोर्खालीका सन्तान यूके आइसकेको उनले जनाए । ब्यारिष्टर किलिन म्याककार्थीले भूतपूर्व गोर्खाहरुले कसरी बेलायतमा आवासीय अधिकार प्राप्त गरे र अभियान कसरी सफल भयो भन्ने चर्चा गर्दै वर्तमान परिवर्तित नीतिबारे अवगत गराएकी थिइन् ।
सन् २०२३ अक्टोबर ५ मा होम अफिसले गोर्खा र हङकङ सैनिकहरुका लागि नयां नियम परिवर्तन गरेपनि पछि उक्त नियमविरुद्ध मुद्दा परेपछि अदालतले गोर्खाहरुकै पक्षमा फैसला गरेको उनले जनाइन् । फर्स्ट टिएर ट्राइबुनलले नेशनालिटी, इमिग्रेसन एन्ड असाइलम एक्ट र युरोपियन महासन्धिको धारा ८ बमोजिम आवेदकलाई पारिवारिक जीवनबाट विमुख गर्न नमिल्ने भन्दै अपिल राइट्स दिन आदेश गरेको उनको भनाइ थियो ।
‘अति विपन्न’ अवस्थाका भूतपूर्व गोर्खाका बिधवा र तिनका सन्तान सबैलाई बेलायतले भिसा शुल्क नलिने भएपनि त्यसका लागि यथेष्ठ प्रमाण जुटाउनु पर्ने, समय धेरै लाग्ने र यसमा धेरै कानूनी झन्झट हुने उनले बताइन् । अर्की ब्यारिष्टर जस्टिन फिसरले आवेदन गर्ने तरिका र दस्तुरबारे स्पष्ट पारिन् ।
ब्यारिष्टर डेबोराले नेपालबाट आवेदन हाल्ने तरिका, आवेदनमा साक्षी बयान लेख्दा ध्यान दिनुपर्ने सन्दर्भ आदि बारे प्रस्ट्याएकी थिइन् । ’कभरिङ लेटर’ मा गल्ती हुन नहुने र आफ्नो बयान झुटो हुन नहुनेमा उनको जोड थियो ।
ठेगाना पनि सही आफू बसिरहेकै ठाउंको हुनुपर्ने, स्पोन्सर गर्नेले आफ्ना सन्तानलाई पैसा नियमित पठाइरहेको अर्थात आर्थिक निर्भरताबारे बुझाउन जरुरी हुने उनको धारणा छ । बैंक स्टेटमेन्ट वा अन्य कागजात नक्कली नबनाउन पनि उनले सुझाइन् । उनले लामो समय अगाडि बाबु आमा बितिसकेको भए उनीहरुको हकमा भिसा हुने सम्भावना निकै कम रहेको पनि प्रष्ट्याइन् ।
कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्ससंग आबद्ध सोलिसिटर सैयद इमरान अलीले पनि विभिन्न जिज्ञासा मेटाएका थिए ।