काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२० भिमसेनस्थान बस्ने ४४ वर्षीय निराजन मानन्धर र पाल्पा पूर्वखोला गाउँपालिका-५ बिरकोट घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेका छन् ।
पक्राउ मध्ये निराजनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र चन्द्र प्रकाशले बोस्निया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निराजनलाई आइतबार र चन्द्र प्रकाशलाई सोमबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।