काठमाडौँ । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएसँगै अब बीआरआईलाई आधिकारित रुपमा अघि बढ्ने भएको छ ।
यसअघि मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको वार्तापछि ९ बुँदे समझदारी जारी नौबुँदे सहमति समझदारी भएको थियो । नेपालले ऋणबाहेक अनुदानमा मात्रै लिने प्रस्ताव गरेपछि मंगलबार बीआरआईमा सम्झौता हुन सकेको थिएन । आज भएको बीआरआई सहकार्य फ्रेमवर्कमा मदन भण्डारी विश्वविद्यालय थपेर १० बुँदे सहमति भएको हो ।
नेपाली पक्षले फ्रेमवर्कको मस्यौदामा 'ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी' राखेको थियो । तर चिनियाँ पक्षले उक्त प्रस्ताव अस्वीकार गरेर फर्काएपछि अन्तिममा 'एड असिन्टेन्स फाइनासिङ' राखेर पठाएको प्रस्तावअनुसार सहमति भएको हो । फ्रेमवर्कमा टोखा–छहरे सुरुङमार्ग, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्सलगायत परियोजना समेटिएका छन् ।
यी हुन् बीआरआई सहमतिमा समेटिएका १० परियोजना
१) टोखा–छहरे सुरुङमार्ग
२) हिल्सा–सिमकोट सडक परियोजना
३) किमाथांका–खाँदबारी सडक र पुल
४) जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग
५) डडेलधुरास्थित अमरगढी सिटी हल
६) जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७) झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स
८) काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
९) दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क
१०) मदन भण्डारी विश्वविद्यालय