काठमाडौँ ; सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको छ । समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको समितिका सदस्य प्रवक्ता खम्बबहादुर खातीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापती, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहालको छनोट गरिएको छ । सरकारले गत कात्तिक २ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो ।
समितिलाई दुई महिनाभित्र कार्यअवधि दिइएको थियो । दुई आयोगका पदाधिकारीका लागि एक सय ५६ जनाको आवेदन परेको थियो । सिफारिस समितिको कार्यअवधि आगामी पुस २ गतेसम्म रहेको छ ।