शीर्षकहरू

चीनको ग्वान्जाउ र सेन्जेनमा नेपालको पर्यटन प्रवर्द्धन

चीनको ग्वान्जाउ र सेन्जेनमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ । चीनको ग्वान्जाउ र सेन्जेनमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ग्वान्जाउ इन्टरनेशनल ट्राभल फेयरको निमन्त्रणामा यही मङ्सिर १७ गते ग्वान्जाउमा र मङ्सिर १९ गते चीनको सेन्जेनमा आयोजित ट्राभल फेयर र नेपाल इन्डिया चाइना एक्स्पो (नाईस) रोड शोमा सहभागिता जनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गरेको जनाएको छ ।

कार्यक्रममा सहभागी दुई सय ५० बढी ‘आउटबाउन्ड टुर अपरेटर’ र मिडिया प्रतिनिधि समक्ष गन्तव्य नेपाल र आगामी फागुन १२ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने नाईस कार्यक्रमको प्रवर्द्धन गरिएको पाटा नेपालले आज विज्ञप्तिमार्फत जनाएको हो । पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र नाईस २०२५ का सद्भावना दूत तथा चीन बजारका विज्ञ सल्लाहकार प्राडा वोल्फगाङ जोर्ज अर्लटले नेपालको पर्यटन सम्भावना उजागर गर्दै पर्यटन विकास र प्रवर्द्धनमा जोड दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा चिनियाँ सरकारद्वारा “नेपाल पर्यटन वर्ष २०२५”को औपचारिक घोषणासँगै नाईस कार्यक्रमलाई अपेक्षित उद्देश्य प्राप्तिका लागि सहयोग पुग्ने अध्यक्ष लकाईले बताउनुभयो । उहाँले चिनियाँ टुर अपरेटरलाई नाईसमा सहभागी निमन्त्रणा गर्दै प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र असीमित सम्भावनाको साक्षी बन्न आग्रह गर्नुभयो ।

हालसम्म, चीन र भारतबाट दुई सयभन्दा बढी क्रेताले नाईसका लागि आवेदन दर्ता गरिसकेको पाटा नेपालले जनाएको छ । रोड शोले चिनियाँ आउटबाउन्ड अपरेटरबीच कार्यक्रमको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।