शीर्षकहरू

अनधिकृत चिनी आयात नरोकिए ७४/७५ को अवस्था दोहोरिन्छ : संघ

अनधिकृत चिनी आयात नरोकिए ७४/७५ को अवस्था दोहोरिन्छ : संघ

काठमाडौँ । नेपाल चिनी उद्योग संघले चिनीको अनाधिकृत र अनियन्त्रित रुपमा आयात भैरहेको भन्दै रोक लगाउन माग गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी संघले स्वदेशमा स्थापित चिनी उद्योगहरुले गत क्रसिङ्ग सिजनमा उत्पादित चिनी नै केही उद्योगहरुमा मौज्दात रहेको बताएको छ ।

तर खुल्ला सिमानाका कारण हाल अत्यधिक मात्रामा भैरहेको चिनीको अनधिकृत पैठारीका कारण चालु क्रसिङ्ग सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभइ मौज्दात रहने संघको भनाइ छ ।

संघले विगत क्रसिङ्ग सिजन २०७४/७५ मा समेत विदेशबाट अत्यधिक मात्रामा निकासी अनुदानका कारण घटी मूल्यमा चिनी आयात भएको कारणले समयमा नै स्वदेशी उद्योगको उत्पादन बिक्री नभइ मौज्दात रहादा कृषकलाई समयमा भुक्तानी गर्न नसकेको र केही उद्योग बन्द भएको समेत स्मरण गरेको छ ।

यसरी अनधिकृत रुपमा चिनी पैठारी हुँदा शतप्रतिशत स्वदेशी कृषिजन्य उद्योगबाट उत्पादित चिनीको बिक्री बितरणमा प्रतिकुल असर परी चिनी स्टक रहन जाने, जसबाट कृषकहरुलाई समयमा नै उखुको मुल्य भुक्तानी गर्न, बैंकहरुको साँवा ब्याज तिर्न उद्योग असमर्थ हुने र आगामी क्रसिङ्ग सिजनमा समयमा नै उद्योग सञ्चालन हुन नसक्ने बताएको छ । यसबाट लाखौं कृषकहरुको भविष्य समेत अन्योलमा पर्ने भन्दै संघले खुल्ला सिमानाका कारण हुने अनधिकृत र अनियन्त्रित चिनीको पैठारीलाई अविलम्ब रोक लगाउन माग गरेको छ ।