शीर्षकहरू

खाडी मलेसियाबाट युरोप डाइभर्ट हुँदै नेपाली श्रमिक

खाडी मलेसियाबाट युरोप डाइभर्ट हुँदै नेपाली श्रमिक

काठमाडौं  । खाडी मलेसिया जाने नेपाली युवा श्रमिकहरु पछिल्लो समय युरोपतर्फ डाइभर्ट भएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार क्रोएसिया, रोमानिया, साइप्रस, बेलायत, माल्टा र पोल्याण्ड जाने नेपाली श्रमिकको संख्या बढेको छ । 

तथ्यांकअनुसार विगत पाँच वर्षको अवधिमा क्रोएसिया, रोमानिया, साइप्रस, बेलायत, माल्टा र पोल्याण्ड मुलकमा जान लागि एक लाख २४ हजार ५६० जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । आव २०६७/७७ देखि गत आवमा यी मुलुक जानका लागि श्रम स्वीकृति लिनेको संख्या करिव ७ गुणाले बढेको छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा ४७ हजार ५१६ जनाले श्रम स्वीकृति लिएका छन् । आव २०७९/८० मा ४० हजार ६७० जनाले श्रम स्वीकृति लिएका छन् । आव २०७८/७९ मा २३ हजार ५८४, आव २०७७/७८ मा ५ हजार ७५८ र आव २०६७/७७ मा जम्मा ७ हजार ५ जनाले श्रम स्वीकृति लिएका थिए । विभागबाट श्रम स्वीकृति लिएर भन्दा पनि विद्यार्थी भिसा र भिजिट भिसामा जानेको संख्या झनै बढी भएको विभिन्न तथ्यांकले देखाएको छ । त्यस्तै, अहिले खाडीका विभिन्न मुलुक कतार, साउदी र युएई हुँदै युरोपका विभिन्न मुलुका जाने नेपाली संख्या बढ्न थालेको छ ।

विगत पाँच वर्षको अवधिमा रोमानिया जानका लागि ४० हजार ८४८ जनाले श्रम स्वीकृति लिएका छन् । गत आव मात्रै रोमानिया जानका लागि १५ हजार २१ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । आव २०७९/८० मा १४ हजार २२५ जनाले श्रम स्वीकृति लिए । आव २०७८/७९ मा सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका छन् । आव २०७७/७८ मा दुई हजार ९९ र आव २०७६/७७ मा दुई हजार २८ जनाले श्रम स्वीकृति लिएका छन् ।

रोमानिया पछि क्रोएसिया जानेको संख्या अधिक छ । विभागको तथ्यांक अनुसार विगत पाँच वर्षमा २९ हजार ८९७ जनाले रोमानिया जानका लागि श्रम स्वीकृति लिएका छन् । गत आव २०८०/८१ मा १५ हजार ३६४ जनाले श्रम स्वीकृति लिएका छन् । आव २०७९/८० मा सात हजार ४४१ जनाले श्रम स्वीकृति लिए । त्यस्तै, आव २०७८/७९ मा पाँच हजार ३४४, आव २०७७/७८ मा एक हजार ९४, आव २०७६/७७ मा ६४६ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । 

त्यस्तै, १९ हजार ६९८ जनाले साइप्रस जानका लागि श्रम स्वीकृति लिएका छन् भने माल्टा जानका लागि १६ हजार ५१, पोल्याण्ड जानका लागि १० हजार ८९ र बेलायत जानका लागि ७  हजार ७७ जनाले श्रम स्वीकृति लिएका छन् । 

नेपाल सरकारले विश्वका १११ वटा मुलुकमा रोजगारीमा जानका लागि खुल्ला गरेको छ । तर, सरकारले हालसम्म जम्मा ११ वटा मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ । युरोपियन मुलुकमध्ये रोमानिया र जर्मन सरकारसँग नेपाल सरकारले श्रम सम्झौता गरेको छ ।  सम्झौता पनि यि मुलुकमा जाने श्रमिकको संख्या वृद्धि भएपछि व्यवस्थित भने हुन सकेको छैन ।