काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते ३२ औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।
कार्की ब्याङक्वेट बबरमहल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले लाभांश प्रस्तावसँग गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पनि पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र विभिन्न संस्था तथा व्यक्तिलाई गरेको आर्थिक सहयोग अनुमोदनको प्रस्ताव सभाका लागि तय भएको छ ।
तल्लो मस्र्याङदी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमति पत्र लोअर मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनीलाई र चिनो खोला जलविद्युत आयोजनको विद्युत उतपादन अनुमति पत्र चिनो हाइड्रोपावरलाई हस्तान्तरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।