काठमाडौं । ङादी ग्रुप पावरका लिमिटेडले पुस २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस आधारमा शेयरधनीहरुले कम्पनीको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७९२ दशशमलव २२५ कित्ता हकप्रद शेयर निष्कासनमा आउनेछ ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते एक दिन बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरमा माघ १४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्बन्धित शेयरधनीहरुले सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन पाउने व्यवस्था छ । मेरो शेयर अनलाइन समेत यो हकप्रद खरीदका लागि प्रयोग गर्न सकिनेछ । कम्पनीले हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपि डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ कायम हुनेछ ।