शीर्षकहरू

गरिमा समृद्धि योजनाको इकाई आजदेखि निष्काशनमा

गरिमा समृद्धि योजनाको इकाई आजदेखि निष्काशनमा

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पहिलो म्युचुल फण्ड सञ्चालनका लागि आजदेखि इकाई निष्काशन गरेको छ ।

क्यापिटलले आफ्नै व्यवस्थापनमा गरिमा समृद्धि योजना नामको योजना सञ्चालन गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई क्यापिटलले निष्काशन गरेको हो ।

निष्काशन गरिने कुल इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकीे ८ करोड ५० लाख इकाई सार्वजनिक निष्काशनमा सर्वसाधारणका लागि जारी गरिएको हो ।

छिटो अवधि पुस ११ गतेसम्म निष्काशनमा रहने यी इकाईमा यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि पुस २१ गतेसम्म निष्काशनमा रहनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाइ माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र इकाईको बाँडफाँट गर्न सकिनेछ ।

यद्यपि, न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ । यी इकाई निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेड रहेको छ ।

१० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस इकाईमा आवेदन दिनका लागि मेरो शेयर अनलाईनसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।