शीर्षकहरू

बाजुरा भूकम्प : आठ घरमा क्षति, थप विवरण संकलन हुँदै

बाजुरा भूकम्प : आठ घरमा क्षति, थप विवरण संकलन हुँदै

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ ।

नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका- २ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नं ४ मा स्थानीय जनक बोहरा, वडा नं ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ ।

यस्तै, सोही नागरपालिका- ३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका- १ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए ।

भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा एक सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । सोही विवरणबारे वडा नं ५ कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले जानकारी दिए । वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकीन गर्ने काम भइरहको उनले बताए । यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकीमार्फत संकलन भइरहेको जनाइएको छ ।

प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ । नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेकाहरूलाई तत्काल अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराउन आग्रह गरे । -रासस