काठमाडौँ । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई पनि ठूला कम्पनी सरहको बीमा व्यवसाय सीमा तोकेको छ । लघुबीमाको उद्देश्यविपरीत ठूला व्यवसायको पनि सुविधा प्रदान गरेपछि ठूलो बीमा कम्पनीहरू चिडिएका छन् ।
लघुबीमा कम्पनीले सम्पत्ति बीमा, घर बीमा, सेँधमारी बीमा, दुर्घटना बीमा, अस्पताल भर्ना बीमा, दुर्घटना बीमा, मोटर बीमा गर्न पाउने प्राधिकरणले सुविधा दिएको छ । त्यस्तै, कृषि बीमा व्यवसाय गर्नका लागि कम्पनीहरूलाई आवश्यक पूर्वाधार बनाउन प्राधिकरणले कम्पनीहरूलाई सल्लाह दिएको छ ।
प्राधिकरणले गरेको व्यवस्थाअनुसार लघुबीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको मोटर बीमा गर्न पाउनेछन् । त्यसैगरी ५० लाखसम्मको सम्पत्ति बीमा गर्न पाउने व्यवस्था गरिदिएको छ । सरकारले प्रदान गर्ने सहुलियतपूर्ण कर्जा १५ लाख रुपैयाँसम्मको पनि बीमा गर्न पाउने व्यवस्था गरिदिएको छ । त्यस्तै, १५ लाख रुपैयाँसम्म बीमांक हुने वैदेशिक रोजगार बीमा व्यवसाय गर्न पाउने अधिकार लघुबीमा कम्पनीले पाएका छन् ।
न्यून आय भएका वर्गलाई पनि बीमाको दायर भित्र ल्याउन सरकारले लघुबीमा कम्पनी परिकल्पना गरेको हो । लघुबीमा भन्ने वित्तीकै साना साना बीमांक रकमको बीमा गर्नु हो । तर, प्राधिकरणले लघुबीमालाई ठूला कम्पनी सरहको व्यवसायको सीमा तोकेपछि लघुबीमाको औचित्यमा प्रश्न उठेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘लघुबीमा भनेको सानो रकमको बीमा गर्नु हो । सानो आम्दानी हुने वर्गमा पुगेर बीमाको सुविधा दिनु लघुबीमाको उद्देश्य हो । तर, प्राधिकरणले यस्ता कम्पनीलाई काखी च्यापेर ठूला बीमा कम्पनी सरह व्यवसाय दिएको छ,’ उनले बताए ।
सरकारले लघुबीमा कम्पनीले सहुलियत पनि दिएको छ । नेपाल राष्ट्र बैंकले अनुदानमा दिने ऋणको पनि बीमा गर्ने व्यवस्था गरिदिएको छ । लघुबीमा कम्पनी बीमाशुल्कमा पनि छुट दिएको छ । अनि व्यवसाय सिमा पनि बढाउने हो भोलिका दिनमा बीमा कम्पनी आफैँ जोखिममा पर्नसक्ने प्राधिकरणक एक कर्मचारीले बताए । ‘कम्पनीको क्षमता कम हुने, व्यवसायको सीमा बढी हुने हुँदा भोलिका दिनमा विपत्ति परेमा कम्पनी आफैँ जोखिममा पर्नेछ,’ उनले भने ।
प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीले भने दायित्व र बीमांक रकमका विषयमा प्राधिकरणको ऐनले स्पष्ट नखुलाएका कारण लघुबीमा कम्पनीको व्यवसाय सीमामा अन्योल देखिएको बताए । ‘दुई लाखको घरको बीमा गरे पनि घरमा आगलागी भएर ४ जना मानिसको मृत्यू भयो भने त कम्पनीले बीमांक रकम सहित चार जनाको पनि दायित्व भुक्तानी गर्नुपर्छ नी,’ उनले भने । बीमांक रकम भन्दा पनि बीमा गरिएको सम्पति क्षति हुँदा दायित्व बढी पनि हुन सक्छ । यो बिषयमा स्पष्ट नहुँदा व्यवसायको सीमा अधिक देखिएको उनले दाबी गरे ।
लघुबीमा निर्देशिका बमोजिम जीवन लघुबीमाको बीमाशुल्क र कमिशन नियमावलीमा उल्लेख भए अनुसार कायम गर्न सकिने व्यवस्था गरेको छ । सम्पति लघुबीमाको भने प्रतिशत हजार दुई रुपैयाँ, घर लघुबीमामा प्रति हजार ५० पैसा, दुर्घटना लघुबीमामा प्रति हजार एक रुपैयाँ, स्वास्थ्य लघुबीमा प्रतिहजार ४० रुपैयाँ र अन्य लघुबीमामा प्रतिहजार ५ रुपैयाँ तोकिएको छ । यस्ता बीमामाको कमिशन शुल्क भने १५ प्रतिशत तोकिएको छ । घातक रोग लघुबीमा र बाली तथा पशुपन्छी लघुबीमाका बीमालेखमा उल्लेख भएअनुसार बीमाशुल्क लिन सकिने निर्देशिकामा व्यवस्था गरिएको छ ।
लघुजीवन कम्पनीमा सवा ३ लाख पोलिसी सक्रिय
नेपाल बीमा प्राधिरकणको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनासम्ममा जीवन लघु जीवन बीमा कम्पनीले ३० करोड ५७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले प्रथम बीमाशुल्क वापत सात करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । ६७ हजार रुपैयाँ नविकरणीय बीमाशुल्क संकलन गरेको छ । कम्पनीहरूमा तीन लाख १३ हजार १४५ वटा बीमालेख सक्रिय छन् । वैदेशिक रोजगार बीमा बापत कम्पनीहरूले चार करोड ८६ लाख रुपैयाँ संकलन गरेका छन् ।
सो अवधिमा गार्डियन माईक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ११ करोड ९० लाख रुपैयाँ बीमाशुलक आम्दानी गरेको छ । क्रेष्ट माइक्रो लाइफले ११ करोड १४ र लिबर्टी माइक्रो इन्स्योरेन्सले ७ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ ।
त्यस्तै चालू आवको कार्तिक महिनासम्ममा निर्जीवन लघुबीमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरूले एक लाख एक हजार ३६१ वटा बीमालेख जारी गरेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सात करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ४१ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ५ करोड ८९ लाख र ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ५ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
प्राधिकरणले २०७९ मंसिर १० गते सात वटा लघुबीमा कम्पनीलाई एकैपटक सञ्चालन अनुमति दिएको हो । प्रत्येक प्रदेशलाई केन्द्र बनाएर सञ्चालन हुने गरी तीन वटा जीवन र चार वटा निर्जीवन गरी सात वटा कम्पनीलाई अनुमति दिइएको थियो । नयाँ कम्पनीको लाइसेन्सका लागि प्राधिकरणमा १५ जीवन र १६ निर्जीवन कम्पनीले आवेदन दिएका थिए । प्राधिकरणले निवेदन दिएका कम्पनीको मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने सात कम्पनी छनौट गरेको हो ।
प्राधिकरणले ट्रस्ट माइक्रो इन्स्योरेन्सलाई बुटवल मुख्य कार्यालय तोकर लुम्बिनी प्रदेशमा व्यवसाय गर्न अनुमति दिएको हो । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सलाई भरतपुर मुख्य कार्यालय तोकेर बागमती प्रदेश, स्टार माइक्रो इन्स्योरेन्सलाई जनकपुरधाम धनुषा मुख्य कार्यालय तोकर मधेस प्रदेश र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई धनगढी मुख्य कार्यालय तोकेर सुदूरपश्चिम प्रदेशमा लघुनिर्जीवन बीमा व्यवसायका लागि अनुमति दिएको हो ।
त्यसैगरी लघुजीवनतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई विराटनगर मुख्य कार्यालय तोकेर प्रदेश एक व्यवसाय गर्ने अनुमति दिएको हो । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई वीरेन्द्रनगर सुर्खेत मुख्य कार्यालय तोकेर कर्णाली प्रदेश र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई पोखरा–८ कास्की मुख्य कार्यालय तोकेर गण्डकी प्रदेशमा लघुबीमा व्यवसाय गर्ने अनुमति प्रदान गरेको हो ।
तल्लो तहका गरिब विपन्न वर्ग समेट्न गरी लघुबीमा कम्पनीलाई सञ्चालन अनुमति दिएपछि यी कम्पनीहरू पनि शहर केन्द्रित भएका छन् ।
लघुबीमाको अन्तराष्ट्रिय अभ्यास कस्तो छ?
न्युन आय भएका वर्गलाई लक्षित गरी लघुबीमा कम्पनी विश्वका धेरै मुलुकले अभ्यासमा ल्याएको बीमा विज्ञ डा. रविन्द्र घिमिरे बताउँछन् । तर, नेपालमा प्रभावकारी हुन नसकेको हो कि भन्ने आशंका उठेको उनले बताए । तर, कम्पनीहरू भर्खरै सञ्चालनमा आएकाले कम्पनीको प्रस्तुती हेर्न बाँकी रहेको उनले बताए ।
लघुबीमाको अवधारणा विश्वभरिका विभिन्न मुलुकहरूमा विस्तार भएको छ । विशेष गरी, विकासशील देशहरूमा जहाँ धेरै जनसंख्या गरीब र बीमाबाट बाहिर रहेको छन् । ती मुलुकहरूले लघुबीमा कम्पनीहरूको स्थापना र कार्यान्वयन बढी जोड दिएका छन् । एशिया, अफ्रिका, र ल्याटिन अमेरिकीकन मुलुकहरूमा लघुबीमा कम्पनीको स्थापना भएका छन् । जसले कम आय भएका व्यक्तिहरूलाई सस्तो र पहुँच योग्य बीमा सेवा प्रदान गर्न प्रयास गरेको छ।
भारतमा लघुबीमा निकै लोकप्रिय छ । लाइफ इन्योरेन्स कर्पोरेशन र अन्य निजी कम्पनीहरूले लघुबीमाको योजना सञ्चालन गरेका छन् । भारत सरकारले लघुबीमा क्षेत्रको प्रोत्साहनका लागि विभिन्न योजनाहरू सञ्चालनमा ल्याएको छ । जस्तै प्रधानमन्त्री जीवन ज्योति बीमा योजना र प्रधानमन्त्री सुरक्षा बीमा योजना आदी । साथै, भारतमा मोबाइल र डिजिटल प्लेटफर्मद्वारा लघुबीमा सेवाहरू प्रदान गर्नका लागि धेरै क्रियटिभ योजनाहरू सुरु भएका छन् ।
बंगलादेशमा ग्रामिण इन्स्योरेन्स र अन्य संस्थाहरूले लघुबीमा योजनाहरू चलाइरहेका छन् । ग्रामीण र विपन्न जनसंख्यालाई लक्षित गर्दै बीमा कार्यक्रमहरू सञ्चालन गरिएको छ । ग्रामिण बैंक जस्तो माइक्रोक्रेडिट संस्थाले लघुबीमामा पनि योगदान पुर्याइरहेको छ ।
अफ्रिका महादेशमा लघुबीमाको अभ्यास बढ्दो छ । जसको प्रमुख उदाहरण केन्या हो । केन्या ओरेन्ट इन्स्योरेन्स र अन्य बीमा कम्पनीहरूले साना प्रिमियममा बीमा सेवा प्रदान गर्दै आएका छन् । यहाँका ग्रामीण समुदायमा मोबाइल फोन प्रयोग गरेर बीमा सेवा प्रदान गर्नका लागि विभिन्न प्लेटफर्महरू सञ्चालनमा ल्याएका छन्।
घाना पनि लघुबीमा कम्पनीहरूको सञ्चालनमा रहेको मुलुकमध्ये एक हो । मायक्रोइन्स्योर जस्ता कम्पनीहरूले घानामा स्वास्थ्य बीमा र दुर्घटना बीमा सेवा प्रदान गरिरहेका छन् । घानाको लघुबीमा उद्योगले कृषक र ग्रामीण समुदायलाई लक्षित गरेको छ ।
मलावीमा लघुबीमा संस्थाहरू मेम्बा इन्स्योरेन्स र अन्य संस्थाहरूको मार्फत ग्रामीण समुदायका लागि सस्तो स्वास्थ्य बीमा र जीवन बीमा उपलब्ध गराइरहेका छन् । यहाँ मोबाइल फोन आधारित लघुबीमा सेवा प्रचलित छ । तञ्जानिया पनि लघुबीमा सञ्चालन गर्ने मुलुक हो । जहाँ माइक्रोइन्स्योर र अन्य कम्पनीहरूले मोबाइल बीमा सेवा उपलब्ध गराएका छन् । यहाँको लघुबीमा सेवा विशेष गरी कृषक र ग्रामीण जनसंख्यालाई लक्षित गर्दै डिजाइन गरिएको छ ।
पाकिस्तानमा लघुबीमा कम्पनीहरूले ग्रामीण र गरीब वर्गलाई लक्षित गर्दै विभिन्न बीमा योजनाहरू सञ्चालनमा ल्याएका छन् । यहाँका प्रमुख बीमा कम्पनीहरूले कृषि बीमा र स्वास्थ्य बीमाका कार्यक्रमहरू चलाइरहेका छन् । फिलिपिन्समा पनि लघुबीमा कम्पनीहरूको विस्तार भएको छ । फिलिपिन्स माइक्रोइन्स्योरेन्स, फिलिपिनास सेल र अन्य कम्पनीहरूले ग्रामीण र गरीब समुदायलाई बीमा सेवा प्रदान गरिरहेका छन् । यहाँ स्वास्थ्य, जीवन र आपतकालीन दुर्घटना बीमा लोकप्रिय छन् ।
नाइजेरियामा माइक्राइन्स्योर र अन्य कम्पनीहरूले गरीबी र असुरक्षित जनसंख्यालाई लक्षित गरेर लघुबीमा सेवा प्रदान गरेका छन् । नाइजेरियामा मोबाइल फोन र डिजिटल प्लेटफर्महरूको प्रयोग गरेर लघुबीमा कम्पनीहरूले सेवा दिइरहेका छन् । युगाण्डा र रुवान्डा जस्ता मुलुकहरले कृषक र ग्रामीण जनसंख्यालाई सस्तो बीमा प्रदान गर्ने काम गरि रहेका छन् ।
ब्राजिलमा लघुबीमा बीमा कम्पनीहरूले किसान र शहरी गरीबलाई लक्षित गरेर लघुबीमा योजना सञ्चालन गरी रहेका छन् । कोलम्बियामा लघुबीमा योजनाहरू निकै प्रचलित छन् । कम्पनीहरूले सस्तो जीवन बीमा र स्वास्थ्य बीमा प्रदान गर्दै आएका छन् । यहाँको लघुबीमा सेवा मोबाइल फोन र डिजिटल माध्यमद्वारा उपलब्ध गराइन्छ ।
इन्डोनेशियामा लघुबीमा कम्पनीहरूले ग्रामीण समुदायलाई लक्षित गर्दै बीमा योजनाहरू संचालन गरेका छन् । यहाँको सस्तो बीमाशुल्कका ग्रामीण समुदायलाई लक्षित गरी बीमा योजना सञ्चालन गरिएको छ ।