काठमाडौँ । अघिल्लो साता चार कारोबार दिनमा ८५.४७ अंकले घटेको शेयर बजारको ओरालो यात्रा आइतबार पनि जारी रह्यो । यसदिन १३.५३ अंकले घटेर दुई हजार ५८३.२९ अंकमा बजार बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स २.६९, फ्लट इन्डेक्स १.१३ र सेन्सेटिभ फ्लट इन्डेक्स १.०९ अंकले घटेको छ । १३ उपसमूहमा ऊर्जा र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहको शेयर घटेको छ । कारोबारमा आएका २४४ मध्ये १५४ कम्पनीको शेयर घट्दा ८४ को बढेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर छ ।
सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक ६.४० प्रतिशतले गुमाउँदा चार कम्पनीको शेयरमा सर्किट लागेको छ । आज सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको हो ।
आज कारोबार रकम पनि घटेको छ । यसदिन ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको ९१ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।