काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा अन्तिम दिनसम्म १७ लाख ८५ हजार ८५३ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारी अनुसार पुस ९ गते साझ ५ बजेसम्म यी आवेदकहरुबाट २ करोड ४८ लाख ८५ हजार ८४० कित्ता एफपीओ खरीद माग भएको हो ।
कम्पनीले भने ४ लाख ७५ हजार ४४९ कित्ता एफीओ पुस ५ गतेदेखि जारी गरेको हो । अन्तिम दिनसम्म कम्पनीले निष्काशन गरेको एफपीओ कित्ताभन्दा ५२ दशमलव ३२ गुणा बढी आवेदन परेको सीडीएससीको तथ्याङ्कले देखाउँछ । धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४९० रुपैयाँ कायम छ ।
कम्पनीले सर्वसाधारणतर्फको शेयर स्वामित्व ३० प्रतिशत कायम गर्नका लागि प्रतिशेयर १०० रुपैयाँमानै एफपीओ निष्कासन गरेको हो । कम्पनीको एफपीओ बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ता हालकै मूल्यलाई आधार मान्ने हो भने पनि पहिलो दिनमै करिब १४ हजार रुपैयाँ नाफामा रहन्छन् । यसर्थ पनि लगानीकर्ताको आकर्षण यो एफपीओ बढी देखिएको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको एफपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ ।
भाग्यमानी ४७ हजार ५४४ जना आवेदकले मात्र कम्पनीको एफपीओ प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापूँजी भने ३२ करोड २३ लाख ७८ हजार रहेको छ । एफपीओ निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ कायम हुनेछ ।