काठमाडौँ । डिजिटल भुक्तानी प्लेटफर्म इसेवाले इसेवाबाट रकम चोरी भयो भन्नु भ्रामक र यथार्थहीन कुरा भएको दाबी गरेको छ । बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीले त्यस्ता समाचारको पछि नलाग्न पनि अनुरोध गरेको छ ।
इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएको भन्दै कम्पनीले गम्भीर ध्यानकर्षण बताएको छ । १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको दाबी कम्पनीले गरेको छ ।
इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहक तथा मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ ।
'भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरुलाई दुरुत्साहन गरिन्छ,' विज्ञप्तिमा भनिएको छ ।
इसेवामा रहेको ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित रहेको दाबी पनि कम्पनीले गरेको छ ।