एजेन्सी । कजाकिस्तानमा ६७ यात्रुसहित उडेको एक विमान बुधबार दुर्घटनामा परेको छ । कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार गरिएको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ ।
एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ । जसमा ४२ जनाको मृत्यु भएको आशंका गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । अजरबैजान एयरलाइन्सको जे २–८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।