शीर्षकहरू

नामीले ११ दिने एआई स्कुल सञ्चालन गर्ने

काठमाडौं । एआई सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले ११ दिने ‘एआई स्कुल’ सञ्चालन गर्ने भएको छ । बुधबार पत्रकार  सम्मेलन गर्दै पुस १२ गतेदेखि २३ पुससम्म ललितपुरमा अवस्थित प्रिमियर इन्टरनेसनल कलेजमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

एआईसम्बन्धी यस छोटो अवधिको तालिममा स्नातक तहदेखि विद्यावारिधि गरिरहेका विद्यार्थीहरू सहभागी हुने छन् । एआई स्कुलअन्तर्गत पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार तथा यस क्षेत्रमा अवसर दिनेगरी तालिम सञ्चालन हुने नामीले जनाएको छ । कार्यक्रममा एआई स्कुलको ५औं वार्षिक कार्यक्रमको उद्देश्य, महिमा र गरिमा र एआई क्षेत्रमा योगदानको यात्राको बारेमा जानकारी गराइने बताएको छ ।

यस्तै, नेपालका विविध क्षेत्रमा एआईको प्रयोगबाट सिर्जना हुने नयाँ प्रविधि र अवसरको महत्त्वका बारेमा प्रष्ट पारिने जनाएको छ । कार्यक्रममा १० देशका उद्योगी विशेषज्ञहरूले तालिम दिने तथा यसबारे गहन छलफल पनि गरिनेछ ।

विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजलाई जानकारी दिन तालिमको आयोजना गर्न लागिएको नामीका संस्थापक तथा डा. विशेष खनालले जानकारी दिए । विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्र जीओमेट्रिक डीप लर्निङ, फन्डामेन्टल मोडल्स तथा एप्लिकेसन्स र मोडर्न प्राक्टिसमा भौतिक कक्षाहरू सञ्चालन गर्ने उनले बताए ।

‘सानो ठाउँबाट ठूला परिवर्तन आउनसक्छ,’ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ ।

तालिममा भाग लिनेहरूले ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि पाइने जनाइएको छ । यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतको साझेदारी रहेको छ ।साथै, यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् ।

विगतका चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका थिए । एआई स्कुल अन्तर्गत पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार तथा यस क्षेत्रमा अवसर दिनेगरी तालिम सञ्चालन हुने नामीले जनाएको छ ।

भिडिओ