शीर्षकहरू

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

पोखरा । पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो ।

बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव नौ दिनसम्म चल्नेछ । पोखरालाई साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताउनुभयो ।

“हाम्रो मुख्य उद्देश्य साहसिक गतिविधिबाट अन्तर्राष्ट्रिय जगतमा पोखरालाई चिनाउने हो, मङ्गलबारदेखि सुरु भएको महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको सहभागिताले हामीलाई उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार महोत्सवको विशेष आकर्षणका रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान, पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्यालोकन, नाइट बेलुन ग्लो, बेलुनहरू रातमा झिलीमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौँको कुमारी नृत्य र बज्रयोगिनीलगायत छन् ।

पोखरा पर्यटन विकास समिति पोखरा महानगरपालिकाका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बेलुन महोत्सव पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिसकेकाले यो महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विविध कारणले सुस्ताइरहेको पर्यटनलाई गतिशील बनाउन बेलुन महोत्सवले सघाउ पु¥याउने विश्वास पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको छ । “पर्यटकीय नगरीलाई थप ‘भाइब्रेन्ट’ बनाउन पर्यटकीय गतिविधि भइरहनुपर्छ । पछिल्लो समय हट एयर बेलुनजस्ता महोत्सवले यस सहरको चिनारीलाई थप अन्तर्राष्ट्रियकरण गरेको छ ।”

महोत्सवको स्थानीय संयोजनको जिम्मा फेवा क्लबले लिएको यस महोत्सवमा ‘बिवाइडी’ मुख्य प्रायोजक रहेको छ । महोत्सव सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकारले प्रवर्द्धकका रुपमा सहयोग गरेका छन् । पोखरा पर्यटन परिषद्ले महोत्सवमा सहकार्य गरेको छ । बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी छन् ।

पोखराको आकाशमा एकैपटकमा १७ वटा विभिन्न आकार र डिजाइनका हटएयर बेलुन उड्न सुरु भएसँगै आकाश रङ्गिन बनेको छ । महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुनसहित बेलुन पाइलटहरु सहभागी छन् ।

महोत्सवको ब्राण्ड एम्बासडर राजेश हमाल र प्रियङ्का कार्कीकोसमेत महोत्सवमा सहभागिता छ । महोत्सव स्थलसम्म जानआउन लेकसाइड डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था मिलाइएको छ । महोत्सव पामे क्षेत्रको लौरूकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा सञ्चालित छ । बिहान ६ देखि ९ बजेसम्म व्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने जनाइएको छ ।

साँझ ४ देखि ६ बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुन उडान भर्नेछन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा साङ्गीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान गर्दै आएको छ ।