काठमाडौँ । ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले 'डिजिटल कारोबारमा उत्कृष्ट' अवार्डबाट सम्मानित गरेको छ ।
एनसीएचएल को १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकहरूमध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् ।
ज्योति विकास बैंकले प्रविधिमैत्री सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको छ।
बैंकले अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यस बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्वाइस अडियो बक्स क्युआर सेवा सुचारु गरी मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ। यसैगरी, डिजिटल बैंकिङ्ग र नगदरहित कारोबार प्रवर्द्धन गर्दै क्रस-बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ।
मोबाइल बैंकिङ्ग एप मार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एपमार्फत एटीएमबाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथड्र सेवा, चेक बिना नै काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान र विथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडिओ केवाईसी सुविधा लगायत थुप्रै आधुनिक बैंकिङ्ग सेवाहरू बैंकले उपलब्ध गराएको छ।