शीर्षकहरू

डेटिङ एप चलाउने युवायुवतीहरू हिंसाको जोखिममा

डेटिङ एप चलाउने युवायुवतीहरू हिंसाको जोखिममा

काठमाडौं । अनलाइन डेटिङ एप चलाउने युवायुवतीहरू ‘रोमान्स’ बाट सिर्जना हुने जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ । चाइल्ड सेफ नेटले गरेको 'रोमान्सदेखि जोखिमसम्म : किशोर किशोरी र युवामाथि अनलाइन अन्तरंग सम्बन्ध हिंसा' विषयक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

चाइल्ड सेफ नेटले सेक्युअल भ्वाइलेन्स रिसर्च इनिसियटिभसँगको सहकार्यमा अध्ययन गरेको थियो । एसिया र प्रशान्त क्षेत्रमा सम्भवत : यस्तो खालको अध्ययन पहिलो पटक गरिएको हो । यस अध्ययनमा नेपालमा बढ्दो अनलाइन अन्तरंग सम्बन्ध हिंसालाई विस्तृत रूपमा अुसन्धान गरिएको थियो । 

अध्ययनले ४०.५% युवाहरू हाल वा विगतमा अनलाइनको माध्यमबाट अन्तरंग सम्बन्धमा भएको देखाएको छ । अन्तरंग सम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन हिंसा भएको अध्ययन प्रतिवेदनमा छ । ११% ले वयस्क र नाबालिगबीचको सम्बन्ध रहेको जनाएका थिए ।

सुनसरी जिल्लामा उच्चतम अनलाइन अन्तंरग सम्बन्ध रहेको पाइएको छ । अध्ययनमा सहभागीमध्ये सुनसरी जिल्लाका ३८% ले आफूमाथि अनलाइनबाट हिंसा भएको जानकारी गराएका थिए । किशोर/किशोरीहरू (१६–१७ वर्ष) र युवाहरू (१८–२४ वर्ष) दुवै उमेर समूहका सहभागीहरू समान रुपमा अनलाइन अन्तरंग साथीबाट हिंसाको जोखिममा थिए । तर तुलनात्मक रुपमा युवा सहभागीहरूमा दुर्व्यवहार र हिंसाका व्यवहारलाई पहिचान गर्न र तिनबाट जोगिन सक्ने क्षमता रहेको पाइयो ।

लामो सम्बन्धको तुलनामा ६ महिनाभन्दा कम समय सम्बन्धमा रहेकाहरू हिंसाको उच्च जोखिममा रहेको पाइयो । अध्ययनका ४६% सहभागीले अनलाइन र अफलाइन दुवै प्रकारका हिंसाको सामना गरेको बताए ।

अध्ययनले नेपालका सातै प्रदेशका दश जिल्लाबाट १६ देखि २४ वर्षका चार हजार ५०१ किशोर किशोरी र युवा व्यक्तिहरूबाट जानकारी सङ्कलन गरिएको थियो । यसले डिजिटल प्लेटफर्मको दुरुपयोगबाट भएका अनलाइन रोमान्स हिंसासँग सम्बन्धित जोखिमहरू, सुरक्षात्मक अभ्यासहरू, र प्रणालीगत कमजोरीहरू पत्ता लगाउने लक्ष्य राखेको थियो ।

अध्ययनले पीडितलाई उल्टै दोष दिने प्रवृत्ति, पीडित केन्द्रित दृष्टिकोण र सहायताको अभाव, र अपर्याप्त तथा फितलो कानुनी संरचना लगायतका प्रणालीगत कमजोरीहरू उजागर गरेको छ । यसले बहु–क्षेत्रीय जिम्मेवार निकायहरू र सरोकारवालाहरूलाई किशोर किशोरी र युवाहरूलाई अनलाइन  हिंसाबाट सुरक्षित राख्नका लागि आ–आफ्ना भूमिका निर्वाह गर्न आग्रह गर्दै सिफारिसहरू प्रस्तुत गरेको छ ।

यसले शिक्षा, चेतना अभियानहरू, नीतिगत सुधारहरू, र बलियो कानुनी संरचनाहरूको साथै अभिभावक र विद्यालयहरूले अनलाइन सुरक्षाको लागि प्रभावकारी काम गर्नुपर्ने सिफारिस गरेको छ ।

यस अध्ययनले प्रविधिमार्फत हुने अनलाइन रोमान्स हिंसाबारे थप अनुसन्धानको आधार निर्माण गरेको छ । साथै, चाइल्ड सेफ नेटले नीतिनिर्माताहरू, सेवा प्रदायकहरू, र समुदायहरूका लागि प्रभावकारी कार्यान्वयनका सुझावहरू प्रदान गर्दै जोखिमका कारकहरू पहिचान गरेर बालबालिका र युवाका लागि सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न यस अध्ययनले सघाउने अपेक्षा राखेको छ । अध्ययनबारे जानकारी दिँदै चाइल्ड सेफ नेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने, 'डिजिटल प्रविधिको असुरक्षित प्रयोगले अन्तरंग साथीबीचको हिंसालाई बढाएको दिएको छ, जसमा मुख्यतया नियन्त्रण गर्ने व्यवहार, हानी पुर्याउने उद्धेश्यले अनलाइनमा पछ्याउने, दबाब दिने, र भावनात्मक दुव्र्यवहार समावेश छ ।' 

नेपालको सन्दर्भमा अनलाइन हिंसाको बारेमा चर्चा गर्दै रघुवंशीले थपे, 'नेपाली कानुनले अविवाहित जोडीहरूको अन्तरंग सम्बन्धलाई मान्यता दिँदैन । त्यसकारण, सरकारले अविवाहित जोडीहरूमा हुने अनलाइन अन्तरंग साझेदार हिंसालाई सम्बोधन गर्न आवश्यक नीति र कानुन बनाएको पाइएको छैन ।'

सेक्युअल भ्वाइलेन्स रिसर्च इनिसियटिभकी कार्यकारी निर्देशक एलिजाबेथ डार्टनलले किशोर किशोरी र युवा व्यक्तिहरूमाथि हुने यौन हिंसा अन्त्य गर्न ज्ञान र सहकार्यको महत्वलाई प्रकाश पारिन् । आफ्नो भिडियो सन्देशमा उनले भनिन्, 'चाइल्ड सेफ नेटको यो गहन अध्ययनले यस महत्वपूर्ण मुद्दालाई उजागर गरेको छ । यो अध्ययनले अन्तरंग सम्बन्धको परिभाषालाई समान–लैंगिक सम्बन्ध, यौनिक सम्बन्ध, र साइबर–डेटिङलाई समेटका छन् ।'

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँले भने, 'परिषद्ले चाइल्ड सेफ नेट जस्ता संस्थाहरूको सहकार्यमा बालबालिकालाई अनलाइनमा सुरक्षित राख्न कटिबद्ध छ ।' उनले थपे, 'अनलाइन हिंसाको समस्यालाई सम्बोधन गर्न सरकार र नागरिक समाज संगठनहरूको सहकार्य आवश्यक छ ।'