काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-४ साराङ्ग चोकबाट अवैध लागूऔषध गाँजा करिब ३७ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-९ बस्ने २३ वर्षीय तिर्थ दर्जी र सुनसरी बराहक्षेत्र नगरपालिका-१ बस्ने ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग २ च ८११७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीभित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक तिर्थ र कारमा सवार कृष्णलाई पक्राउ गरेको हो ।
उदयपुर, उदयपुरगढी गाउँपालिका(१ धेप्छेबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित ताप्ली गाउँपालिका-१ बस्ने ३६ वर्षीय चित्र बहादुर मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ शिखरपुरबाट बाहुनिटारतर्फ जाँदै गरेका उनलाई गाँजाको भारी फाली भाग्ने क्रममा पक्राउ गरेको हो । साथै हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ३८ वर्षीय नोनो तामाङ समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-५ गेटा बस्ने २३ वर्षीय कमलेश बमलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-९ पिलालि पूर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९६ ग्राम ४ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-१३ बस्ने ४० वर्षीय रहिस कवाडिया र सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने ४० वर्षीय बदरदिन जसगढ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जुम्ला, तातोपानी गाउँपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय नन्दराम नेपाली, २० वर्षीय पंकज सार्की र २१ वर्षीय प्रबेश नेपाली रहेका छन् । प्रहरी चौकी हाँकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-३ झण्डेनगर बस्ने २० वर्षीय आशिस शाहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ खुटहटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ३ सय १० ट्याब्लेट, फेनारगन १ सय ८९ एम्पुल, डाईजेपाम १ सय ९० एम्पुल, ब्रुप्रेनोर्फिन १ सय ९० एम्पुल र स्पास्मो २ सय ५६ क्यापसुल सहित सुनवल नगरपालिका-२ खुटहट बस्ने २० वर्षीय भुवननाथ कुर्मी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।