काठमाडौँ । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले ९ करोड २२ लाख घुस खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालतमा अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका संचालक तथा अध्यक्ष राजु प्रसाद कंडेलबाट गैरकानुनी रुपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । उनीविरुद्ध परेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धानका क्रममा मेयरको पद ओहोदाको दुरुपयोग गरी कार्यक्षेत्र रहेको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि/जगतगुरु कृपालु प्रतिष्ठान नेपालका संचालक/अध्यक्ष कंडेलबाट घुस/रिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको देखिएको अख्तियारले जनाएको छ ।
उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघ संस्थाहरुबाट विदेशी सहायता रु ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिन लगाएको, उक्त प्रतिष्ठानको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरी/गराइ उक्त प्रतिष्ठानको ख्याती (गुडविलमा)मा वृद्धि गरी/गराई सोही प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी जग्गाहरु प्रतिवादी राजु प्रसाद कंडेल तथा निजको कम्पनीहरुलाई उपलव्ध गराउने गरी सम्झौता गरे/गराएको भेटिएको अख्तियारले जनाएको छ ।
अख्तियारले तयार गरेको आरोपपत्रमा बस्नेतले ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गा पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएको उल्लेख छ । त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको र ९ करोड २२ लाख रुपैयाँ घुस/रिसवतका रुपमा लिएको बताइएको छ ।
मेयर बस्नेतले श्रीमती उर्मिला बस्नेतले श्रीमती उर्मिला बस्नेतको मिलेमतोमा बैंक खातामार्फत शंकर होटलमा रु. २ करोड १५ लाख र ६ करोड ८२ लाख रुपैयाँ कंडेलमार्फत लिएको, २४ लाख ७२ हजार वैवाहिक भोज गर्दा खर्च गराएको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले मेयर बस्नेत, उनकी श्रीमती उर्मिला र पद्मा कोलोनीका सञ्चालक कंडेलविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेको छ ।