काठमाडौं । नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी रकम सिधै बीमितको बैंक खातामा जम्मा गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले कम्पनीहरूलाई पत्राचार गर्दै बीमालेख अनुसार बीमा दाबीको दायित्व यकिन भएपश्चात पूरा रकम अनिवार्य रुपमा बीमितको बैंक खातामा जम्मा गर्न भनेको छ । डिजिटल माध्यम प्रयोग गरी भुक्तानी गर्न समेत प्राधिकरणले भनेको छ ।
कम्पनीहरूले दाबी भुक्तानी प्रक्रिया लम्बाउन थालेपछि प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिएको हो । कम्पनीहरूले चेकमार्फत भुक्तानी गरेको भन्दै महिनौँसम्म चेक विभिन्न ठाउँमा घुमाइएको पाइएपछि डिजिटल माध्यमबाट सिधै सम्बन्धित व्यक्तिको बैक खातामा जम्मा गर्न भनिएको प्राधिकरणले जनाएको छ । बीमितलाई दाबी रकम प्राप्त गर्न सहज होस भन्दै यस्तो निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, प्राधिकरणले जीवन बीमकले दाबी भुक्तानी बापत बीमित वा हकवालालाई कानुन बमोजिम भुक्तानी गर्नुपर्ने रकम बीमित वा हकवालाको बैंक खातामा दाखिल नगरी अन्य बीमालेख जारी गरी रकम समायोजन नगर्न समेत निर्देशन दिएको छ । बीमा कम्पनीहरूले दाबी भुक्तानी रकमबाट अर्को पोलिसी खरिद गर्न दबाब दिने गुनासो बढेपछि प्राधिरकणले यस्तो निर्देशन दिएको हो ।
निर्जीवन बीमाको क्षति मूल्याङंकन गर्ने सर्भेयर खटाउँदा सोको जानकारी एमएमएस मार्फत बीमितलाई गराउनु पर्ने, बीमकले सर्भे प्रतिवेदन प्राप्त भए पश्चात सोको समेत जानकारी एमएमएस मार्फत बीमितलाई दिनुहुन समेत प्राधिकरणले पत्राचार गरेको छ । त्यस्तै, बीमकले बीमा दाबी निवेदन प्राप्त भए पश्चात सोको दर्ता गरी, यथाशिघ्र बीमितलाई एमएमएस मार्फत जानकारी गराउनु हुन समेत निर्देशन दिएको छ ।