शीर्षकहरू

‘विचौलिया र दलालसँग साँठगाँठ गरी ओलीले सुशासन ल्याउन खोजेको पत्याइदिनुपर्ने ?’

‘विचौलिया र दलालसँग साँठगाँठ गरी ओलीले सुशासन ल्याउन खोजेको पत्याइदिनुपर्ने ?’

काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको साँठगाँठ अनैतिक, विचौलिया र दलालहरूसँग रहेको आरोप लगाएका छन् । । बुधबार आगामी राजनीतिक कदमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'मेरो ४९ वर्षको पार्टी सदस्यता खोसेर ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएका भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?'

उनले आफू आफ्नै कारणले पार्टीबाट नबाहिरिएको पनि प्रष्ट पारेका छन् । उनले भनेका छन्, 'पत्रमा आफ्नै कारणले कार्यकारी भूमिकाबाट बाहिरिएको आरोप लगाइएको रहेछ । के जिम्मेवारीबारे तपाईं अध्यक्ष केपी शर्मा ओली लगायत कसैले छलफल गरेको थियो?'

उनले महाधिवेशनपछि आफूसँग अध्यक्षलगायत कसैले पनि छलफल नै नगरेको बताएका छन् । 

उनले ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारका ठूला काण्डका ठूला भ्रष्टाचारीलाई बचाउन लागेको समेत आरोप लगाए । ओलीले निरंकुश बन्दै स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको आरोप लगाउँदै उनले प्रश्नहरूको जवाफ दिनुपर्ने बताए । अन्यथा २०८४ को चुनावमा एमाले पतन हुने दाबी पनि उनले गरे ।