शीर्षकहरू

कृत्रिम बौद्धिकताबाट अन्य ग्रहमा जीवनको खोज

कृत्रिम बौद्धिकताबाट अन्य ग्रहमा जीवनको खोज

डा परशुराम दाहाल

नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् ।

यो अन्तरिक्ष यान छ वर्षपछि, अप्रिल २०३० मा १.८ अर्ब माइल (२.९ अर्ब किलोमिटर) यात्रा गरेर जुपिटरमा पुग्नेछ । त्यहाँ पुगेपछि, यो जुपिटरको परिक्रमा गर्दै युरोपाको ४९ पटक नजिकबाट उडान गरेर अध्ययन गर्नेछ । यस मिसनमा कृत्रिम बैद्धिकता (एआई) र अन्य अत्याधुनिक प्रविधिहरूको प्रयोग गरेर जीवनको सम्भावना खोज्ने लक्ष्य राखिएको छ ।

एआई भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पु¥याउँछ । वैज्ञानिकहरूले यो मिसन केवल पृथ्वीबाहेक जीवनको खोजीको लागि मात्र नभई, भविष्यमा अन्य ग्रह र चन्द्रमाहरूमा अन्वेषण गर्ने योजनाहरूको मार्गप्रशस्त गर्ने विश्वास गरेका छन् ।

नासाको युरोपा क्लिपर मिसनको कुल अनुमानित लागत लगभग ५.२ अर्ब डलर रहेको छ । यसमा मिसनको विकासदेखि २०३० मा जुपिटरमा पुगेर चार वर्षसम्म सञ्चालन गर्ने सम्पूर्ण खर्च समावेश छ । मिसन अत्यन्त जटिल भएकाले, डिजाइन र विकिरण जस्ता चुनौतीका कारण बजेट बढ्दै गएको हो ।

यो नासाका सबैभन्दा महँगो ग्रह विज्ञान परियोजनाहरू मध्ये एक मानिन्छ । युरोपा क्लिपर मिसनमा १,००० भन्दा बढी वैज्ञानिक र इन्जिनियरहरू संलग्न थिए, जसमा एआई र ग्रह अनुसन्धानका विशेषज्ञहरू पनि समावेश थिए । यो मिसनको तयारी २०१५ मा औपचारिक रूपमा सुरु गरिएको थियो र नौ वर्षको मेहनतपछि १४ अक्टोबर २०२४ मा सफलतापूर्वक प्रक्षेपण गरियो ।

यस अवधिमा वैज्ञानिक टोलीले जटिल उपकरणहरू निर्माण र परीक्षण गर्दै, जुपिटरतर्फको यात्रा योजना र मार्गको विस्तृत तयारी गरे । मिसनले एआई प्रविधि प्रयोग गरेर डेटा प्रशोधन र नेभिगेसनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ, जसले जुपिटरको खतरनाक विकिरणबाट सुरक्षित उडान सुनिश्चित गर्छ । युरोपा क्लिपर अन्तरिक्षयानले हाइड्राजिन–आधारित इन्धन प्रयोग गर्छ ।

हाइड्राजिन अन्तरिक्षयात्राका लागि विश्वसनीय इन्धन हो, विशेषगरी गहिरो अन्तरिक्षमा यानको मार्ग परिवर्तन र नियन्त्रणका लागि । यो मिसनका लागि लगभग छ हजार पाउन्ड (दुई हजार ७५० किलोग्राम) इन्धन यानका ट्याङ्कहरूमा भण्डारण गरिएको छ, जसमा हिलियम प्रेसरन्ट पनि छ, जसले इन्धन प्रवाहलाई व्यवस्थापन गर्नेछ ।

यस इन्धनको मद्दतले युरोपा क्लिपरले मङ्गल र पृथ्वीबाट गुरुत्वीय सहायता लिंदै, जुपिटरको कक्षसम्मको यात्रा पूरा गर्नेछ । हाइड्राजिन थ्रस्टरहरूले मार्ग सुधार र मिसनका दौरान वैज्ञानिक उपकरणहरूको सही दिशामा नियन्त्रण गर्न मद्दत गर्नेछन् । युरोपा क्लिपर मिसनको एउटा प्रमुख लक्ष्य युरोपामा जीवनको सम्भावना खोज्नु हो ।

युरोपा, जुपिटरको मुख्य चन्द्रमाहरू मध्ये एक, सतहमुनि लुकेको नुनिलो महासागरले ढाकिएको छ । वैज्ञानिकहरूले यो महासागरमा पृथ्वीभन्दा बढी पानी रहेको अनुमान गरेका छन् । वैज्ञानिकहरूले जुपिटरको यस चन्द्रमामा बरफमुनि रहेको महासागरमा जीवनका लागि आवश्यक तत्वहरू—पानी, रासायनिक यौगिकहरू र ऊर्जा स्रोत—मौजूद हुनसक्ने अनुमान गरेका छन्

। यो मिसनको उद्देश्य युरोपाको वातावरण अध्ययन गरी हाम्रो ब्रह्माण्डमा हामी एक्लै छौं कि छैनौं भन्ने प्रश्नको जवाफ खोज्नु पनि हो । यदि जीवनको लागि अनुकूल अवस्था फेला परेमा, यसले पृथ्वीबाहेक अन्य ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना पुष्टि गर्न मार्ग प्रशस्त गर्नेछ । यो मिसनले मानव सभ्यताले ब्रह्माण्डमा आफ्नो स्थान र जीवनको अर्थबारेको बुझाइमा परिवर्तन ल्याउने आशा गरिएको छ ।

यस मिसनको मुख्य उपकरणहरूमा आइस–पेनेट्रेटिङ राडार, थर्मल इमेजिङ प्रणाली, र अल्ट्राभायोलेट स्पेक्ट्रोस्कोप समावेश छन् । यानले युरोपाको सतहमुनि लुकेको पानी र पानीका फोहोराहरूको खोजी गर्दै जीवनको संकेत अध्ययन गर्नेछ ।

एआई प्रणालीहरूले सतहका तस्वीरहरू र अन्य वैज्ञानिक डेटा विश्लेषण गरी महत्त्वपूर्ण सूचनाहरू छान्ने र स्वचालित रूपमा मिसनको मार्गदर्शन गर्नेछ । सौर्य ऊर्जा प्रयोग गर्ने यो यानमा १०० फिट लामो सोलार प्यानल जडान गरिएको छ, जसले जुपिटरको कमजोर घामबाट पनि पर्याप्त ऊर्जा सङ्कलन गर्न मद्दत गर्नेछ ।

रेडिएसन–प्रतिरोधी प्रविधिको प्रयोग गरेर, यानका उपकरणहरूलाई जुपिटरको विकिरणबाट सुरक्षित राखिनेछ । एआई प्रणालीहरूले मिसनमा सङ्कलन गरिएको डेटा पृथ्वीमा पठाउनु अघि प्राथमिकता निर्धारण र संकुचन गर्नेछन्, जसले अनावश्यक जानकारी हटाएर वैज्ञानिकहरूले तुरुन्तै उपयोग गर्न मिल्ने महत्त्वपूर्ण तथ्यहरू फेला पार्न सकून् । यस प्रकारको कुशलता मानव अनुगमनबिना पनि अन्तरिक्षमा अनुसन्धान गर्न सक्षम हुनेछ । यो मिसनले भविष्यमा पृथ्वीबाहेकका ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना खोज्न थप प्रेरणा दिनेछ ।

यदि युरोपामा जीवन पत्ता लाग्यो भने यो केवल विज्ञानको विजय नभई सम्पूर्ण मानव जातिका लागि ऐतिहासिक उपलब्धि हुनेछ । एआई र अन्तरिक्ष प्रविधिको यस्तो प्रयोगले अन्तरिक्ष अन्वेषणको क्षेत्रलाई नयाँ उचाइमा पु¥याउनेछ । नेपालजस्तो देशका लागि, यस्तो एआई प्रविधि केवल प्रेरणाको स्रोत मात्र नभई देशको प्राविधिक विकासका लागि दिशानिर्देशक पनि हो ।

यो प्रविधि दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा पु¥याउन, ग्रामीण क्षेत्रमा कृषिको उत्पादनशक्ति बढाउन र विपद् व्यवस्थापनका लागि भविष्यवाणी प्रणाली निर्माण गर्न प्रयोग गर्न सकिन्छ । एआई प्रविधि प्रयोग गरेर नेपालले आफ्नो वैज्ञानिक अनुसन्धानमा मात्र नभई, जीवनस्तर सुधार्नका लागि पनि महत्वपूर्ण योगदान गर्न सक्छ ।

भविष्यमा, एआई र मानिसको सहकार्यले शिक्षा, स्वास्थ्य र अनुसन्धानमा प्रगति ल्याउन महत्वपूर्ण योगदान पु¥याउनेछ । जिम्मेवार र सुरक्षित रूपमा मानव र एआईको सहकार्यले हाम्रो जीवनलाई थप सहज र प्रभावकारी बनाउन सघाउनेछ

। युरोपामा जीवनको सम्भावना खोज्ने नासाको प्रयासले भविष्यमा पृथ्वीबाहेक अन्य ग्रहहरूमा मानव जीवनको सम्भावनालाई उजागर गर्न सक्छ । नेपालजस्ता देशहरूले पनि यस्ता प्रविधिबाट प्रेरित भई आफ्नो अनुसन्धान र विकासलाई सशक्त बनाउन सक्छन् । एआईले मानव सभ्यताको सम्भावनालाई मात्र होइन, सम्पूर्ण ब्रह्माण्डमा जीवनको परिकल्पनालाई नयाँ उचाइमा पु¥याउनेछ ।

यसले नेपाललाई विश्वस्तरको अनुसन्धान र अन्तरिक्ष प्रविधिमा सहभागी गराउन मद्दत पु¥याउनेछ । युरोपा क्लिपर मिसन नासाको मात्र नभई सम्पूर्ण मानवताको अन्तरिक्ष यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा बन्नेछ । यो मिसनले विज्ञान र प्रविधिमा नयाँ क्रान्ति ल्याउँदै भविष्यका अन्तरिक्ष अन्वेषणहरूलाई प्रेरित गर्नेछ, जसले हामीलाई “हामी एक्ला छौँ कि छैनौँ ?” भन्ने प्रश्नको उत्तर खोज्न थप नजिक पु¥याउनेछ ।

(लेखक अमेरिकामा एआई विज्ञका रूपमा कार्यरत हुनुहुन्छ)