काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गाधनी भएकै अवस्थामा सुकुम्बासी बनेर पुनः जग्गा लिनेमाथि जो कोहीमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा ‘भूमि समस्या समाधान’सम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो व्यक्तिले सुकुम्बासीका नाममा प्राप्त गरेको जग्गा जफत गरी कारबाही गरिने बताए ।
“अहिले जग्गा जमिन कहाँ, कस्तो छ, सबै ‘डिजिटलाइज प्रणाली’मा राख्ने काम भइरहेको छ, व्यक्तिको देशभर कति जग्गा छ भनेर निकाल्न सक्ने प्रविधिको विकास भएको छ”, सुकुम्बासी पहिचानसम्बन्धी प्रक्रियाबारे जानकारी दिँदै मन्त्री अधिकारीले भने, “कुनै व्यक्तिले अन्त जग्गा भएर झुक्याएर आयोगबाट जग्गा लिएको रहेछ भने उक्त जग्गा जफत र कारबाही हुन्छ ।” सरकारबाट जग्गा लिने र बिक्री गर्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री अधिकारीले सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबाससम्बन्धी समस्या समाधान गर्न भूमि समस्या समाधान आयोगले प्रक्रिया थालनी गरिसकेको स्पष्ट पारे । “आयोग देशभरी बन्छ, तर त्यो आयोगको कार्य क्षेत्र र कार्यावधि फरक हुन्छ”, उनले भने, “मन्त्रालयले आयोगको सीमा तोकिसकेको छ ।”
विगतका आयोगले गरेका कामलाई निरन्तरता दिँदै वितरण भएका लालपूर्जाको स्रेष्ता कायम गरी अघि बढिने उल्लेख गर्दै उनले जिल्ला आयोग गठन भएर काम थालनी भएपछि निश्चित अवधि थप गरेर मापदण्ड बनाइने र सो अवधिमा भरिएका फारमलाई अन्तिम मानिने बताए ।
“एक हजारभन्दा कम निवेदन परेको जिल्लाको हकमा एक वर्ष कार्यवधि तोकिनेछ, पाँच हजारसम्म दुई वर्ष र पाँच हजार भन्दा बढी निवेदन परेको जिल्लाको कार्यविधि तीन वर्ष कार्यावधि कायम गरिएको छ”, मन्त्री अधिकारीले भने ।
हालसम्म भूमि समस्या समाधान आयोगमा १० लाख ९६ हजार ६ सय ७९ भूमिहिनको सङ्ख्या प्रविष्ट भएको छ । त्यसमध्ये भूमिहीन दलितको सङ्ख्या ८७ हजार नौ सय ९५, भूमिहिन सुकुम्बासीको सङ्ख्या एक लाख ६६ हजार ६० र भूमिहिन अव्यवस्थितको सङ्ख्या आठ लाख ४२ हजार छ सय १५ रहेको छ । आयोगले हालसम्म चार हजार पाँच सय ८६ वटा पूर्जा वितरण गरिसकेको भने दुई लाख ५९ हजार ४० वटा कित्ता नाप नक्सा सम्पन्न भएको छ ।
भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले भूमि समस्या समाधानका लागि जिल्लास्तरीय आयोग गठन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए । “आयोगलाई कर्मचारी व्यवस्थापनमा मन्त्रालय लागि परेको छ, चाँडै जिल्ला आयोग गठन गरेर कार्यप्रारम्भ गर्ने तयारी छ”,उनले भने ।
‘सुकुम्बासी उत्पादन गर्ने मुहान नै बन्द गरौँ’
छलफलमा सांसद वीरबहादुर बलायरले सुकुम्बासी समस्याको दीर्घकालीन समस्या समाधान गर्न सुकुम्बासी उत्पादन हुने मुहान नै बन्द गर्नुपर्नेमा जोड दिए । उनले वास्तविक सुकुम्बासी र भूमिहीनको पहिचान गरेर प्राथमिकताका आधारमा जग्गाको स्वामित्व दिइनुपर्ने धारणा राखे ।
सरस्वती सुब्बाले भूमिसम्बन्धी समस्या एकसाथ समाधान गर्न सबै जिल्लामा समिति गठन गरेर कार्यप्रारम्भ गर्नुपर्नेमा जोड दिए । सांसद भानुभक्त जोशीले शुक्लाफाँटा आरक्षबाट विस्थापित नागरिकको समस्या आयोगले समाधान गर्छ कि गर्दैन भनी प्रश्न गरे ।
सांसद मीना तामाङले भूमिहिन, सुकुम्बासी र भूमिहिन दलितको यथार्थ तथ्याङ्क सङ्कलन गरी प्राथमिकताका आधारमा जग्गा दिएर समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । सांसद अमृतलाल राजवंशीले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या दीर्घकालीन समस्या समाधान गर्न आयोग गम्भीर हुनुपर्ने बताए । -रासस