शीर्षकहरू

गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित कम्तीमा ३० जनाको मृत्यु

गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित कम्तीमा ३० जनाको मृत्यु

एजेन्सी । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् । 

“दक्षिणी गाजा पट्टीको खान युनुस सहरको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा विस्थापित मानिसहरूको निवासमा कब्जाकारी विमानले बम प्रहार गर्दा तीन बालबालिका र दुई महिलासहित ३१ जनाको मृत्यु भएको छ ”, गाजाको नागरिक सुरक्षा एजेन्सीले विज्ञप्ति जारी गर्दै बताएको छ । हमला जारी रहेकाले मृतकको संख्या योभन्दा बढी हुनसक्ने अलजजीराले जनाएको छ ।

मारिनेहरूमा प्रहरी प्रमुख महमुद सलाह र उनका सहायक हुसाम शाहवान रहेको एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिए । इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार हमासले इजरायलमा रकेट आक्रमण जारी राखेमा गाजामा आक्रमण तीव्र पार्ने धम्की दिएकाे थियो । हालैका दिनहरूमा गाजाबाट नवीकृत रकेट आक्रमणले इजरायलमा थोरै क्षति पुर्याएको छ र युद्धको सुरुआती चरणको तुलनामा धेरै कम सङ्ख्यामा रकेट प्रहार गरिएको छ । तर यो करिब १५ महिनाको लडाइँपछि इजरायली सरकारका लागि राजनीतिक झट्का हो । 

काट्जले गाजामा अझै बन्धक बनाइएकाहरूको रिहाइको पनि माग गरे ।