काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले एक वर्षपछि ऋणपत्र निष्कासनका लागि स्वीकृति दिने कार्य अघि बढाएको छ । गत वर्षको पुस २ गते नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासनका लागि स्वीकृति दिएपछि बोर्डले कुनै पनि कम्पनीलाई ऋणपत्रका लागि स्वीकृति दिएको थिएन ।
बोर्डमा लामो समय अध्यक्ष पदपूर्ति हुन नसक्दाको असर सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियामा परेको थियो । यो बीचमा केहि कम्पनीहरुले आईपीओ, एफपीओ, हकप्रद शेयर र म्युचुअल फण्ड निष्कासनका लागि अनुमति पाएपनि ऋणपत्रका लागि भने कुनै पनि कम्पनीले अनुमति नपाएको अवस्था थियो । बोर्डले एक वर्षपछि पुस १६ गते एक कम्पनीलाई ऋणपत्र निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।
७ वर्षे अवधिको ९ प्रतिशत ब्याजदरमा ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डले आइसिएफसि फाइनान्सलाई अनुमति प्रदान गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये कम्पनीले सर्वसाधारणमा १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउनेछ भने १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता भने व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा विक्री गर्नेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
आइसिएफसि फाइनान्सले यो ऋणपत्र निष्कासनका लागि २०८१ साल असार १८ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डले कम्पनीले निवेदन दिएको ६ महिनामा ऋणपत्र निष्कासनका लागि अनुमति प्रदान गरेको हो । अझै बोर्डमा ९ कम्पनी ऋणपत्र निष्कासनका लागि आवेदन दिएर बसेको अवस्था छ । ९ कम्पनीमध्ये ७ कम्पनी वाणिज्य बैंकहरु रहेका छन् भने एक विकास बैंक र एक लगानी समूह अन्तर्गतको कम्पनी रहेको छ ।