काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले नक्सालस्थित आफ्नै कार्यालयमा शुक्रबार बिहान एफपीओ बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
मागभन्दा बढी आवेदन परेकाले रितपूर्वक आवेदन दिएकामध्येबाट भाग्यमानी ४७ हजार ५४४ जना आवेदकले कम्पनीको एफपीओ प्राप्त गरेका छन् । कम्पनीले पहिलो चरणमा सबै योग्य आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट न्यूनतम १० कित्ता एफपीओ बाँडफाँट गर्दा बाँकी रहेको कित्तामध्ये थप ९ जनालाई १ कित्ताका दरले बाँडफाँट गरी बाँकी शून्य दशमलव १५ कित्ता एफपीओ एक जना आवेदकलाई थप भएको छ । यसरी हेर्दा एक जना आवेदकले बढीमा ११ दशमलव १५ कित्ता एफपीओ हात पारेका हुन ।
विक्री प्रबन्धकका अनुसार १६ लाख ९२ हजार १०६ जनाले २ करोड २८ लाख ५२ हजार ८० कित्ता एफपीओ माग गर्दै आवेदन दिएका थिए । यी मध्ये १६ लाख ८७ हजार ७७४ जना आवेदकको २ करोड २७ लाख ८२ हजार २० कित्ता एफपीओको लागि परेको आवेदन मात्र योग्य भएको विक्री प्रबन्धकको भनाई छ । कम्पनीको एफपीओमा मागभन्दा ४८ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारण समूहतर्फको हिस्सा ३०
प्रतिशत कायम गर्न एफपीओ निष्कासन गरेको हो । हाल कम्पनीको सर्वसाधारणतर्फको स्वामित्व १९ दशमलव ६८ प्रतिशत रहेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४०० रुपैयाँभन्दा बढी छ । सर्वसाधारणतर्फको स्वामित्व ३० प्रतिशत कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँमै कम्पनीको एफपीओ खरीद गर्न पाउने अवसर पाएका हुन् ।
हाल कम्पनीमा संस्थापकतर्फ ८० दशमलव ३२ प्रतिशत र सर्वसाधारणतर्फ १९ दशमलव ६८ प्रतिशत शेयर स्वामित्व कायम छ । अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ छ । ३२ करोड २३ लाख ७८ हजार चुक्तापूँजी रहेको कम्पनीको एफपीओ निष्कासन तथा बाँडफाँटपछि ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ चुक्तापूँजी कायम भएको छ । एफपीओपछि कम्पनीमा संस्थापकतर्फ २५ लाख ८९ हजार ४६२ दशमलव ५४ कित्ता र सर्वसाधारणतर्फ ११ लाख ९ हजार ७७२ दशमलव ४६ कित्ता शेयर कायम भएको हो ।
तीन आर्थिक वर्षको वास्तविक वित्तीय विवरण अनुसार निरन्तर सञ्चित नाफामा रहेको देखिन्छ । आर्थिक वर्ष ०७७/७८ मा १५ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी आर्थिक वर्ष ०७८/७९ मा भने १० करोड ७५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा थियो । आर्थिक वर्ष ०७९/८० मा कम्पनीको सञ्चित नाफा १ करोड ६४ लाख रुपैयाँभन्दा बढीमा खुम्चिएको देखिन्छ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ९ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।
चालू आर्थिक वर्षभित्र कम्पनीले १७ करोड ६५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।कम्पनीको पछिल्लो आर्थिक वर्ष ०७९/८० को वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७५ पैसा र प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा छ ।चालू आर्थिक वर्षभित्र कम्पनीको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ ७८ पैसा र प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा कायम गर्ने प्रक्षेपण रहेको छ ।