काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले यस अघि स्थगित वार्षिक साधारण सभा पुस २८ गते बोलाएको छ । यस अघि पुस १८ गते आव्हान गरेको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । पुनः बस्ने सभा हिमशिखर पार्ट भेन्यु, चापागाउँ, ललितपुरमा विहान ८ बजे हुने जानकारी कम्पनीले सूचना जारी गर्दै दिएको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०८०÷८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको थियो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमल ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । स्वतन्त्र सञ्चालक नियुक्तीको प्रस्ताव पनि सभाले पारित गर्नेछ । यस अघिका प्रस्तावहरुसँगै कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि थप भएको छ ।
कम्पनीले बोनस पछि कायम चुक्तापूँजीको आधारमा ६९ दशमलव ८९ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव कम्पनीले थप गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । हकप्रद शेयर निष्कासन प्रक्रिया भने वार्षिक साधारण सभाले पारित गरेपछि अघि बढ्नेछ ।