शीर्षकहरू

नेपालगञ्जमा माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन हुने

नेपालगञ्जमा माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन हुने

बाँके। नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको छ । 

कम्पनीले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसल माघी पर्वलाई मध्यनजर गर्दै समय थप गरिएको शाखा कार्यालय नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । 

उनका अनुसार सहुलियत बिक्री केन्द्रबाट हालसम्म एक सय ७३ क्विन्टल चामल बिक्री भएको छ । उक्त परिमाणमा चामल बिक्री गर्दा उपभोक्तालाई रु ८६ हजार छुट पाएका छन् । 

कम्पनीले चाडपर्वलाई लक्षित गरी गत असोज ६ गतेदेखि  सहुलियत पसल सञ्चालनमा ल्याएको हो । अन्य बिक्री केन्द्रबाट चामलसहित दाल, नुन, तेल, चिनी, चियापत्ती, घिउ, जिरा, चिउरा, पिठोलगायतका २८ किसिमका खाद्य वस्तु बिक्री भएपनि नेपालगञ्जबाट चामल मात्र बिक्री भएको जनाइएको छ ।

नेपालगञ्ज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको थियो । रासस