शीर्षकहरू

हमासले बन्धक बनाएका विपिन जोशीसहित ३४ जनाको अवस्था अझैँ अज्ञात

हमासले बन्धक बनाएका विपिन जोशीसहित ३४ जनाको अवस्था अझैँ अज्ञात

काठमाडौँ । इजरायलले हमास समूहले सम्भावित आदानप्रदान सम्झौताको पहिलो चरणमा रिहा गर्न तयार रहेको घोषणा गरेका ३४ जना बन्धकको अवस्था हालसम्म उपलब्ध नगराएको बताएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबर २०२२ मा आक्रमण गरेपछि शुरु भएको इजरायलसँगको युद्ध शुरु भएको थियो । हमासले गरेको उक्त आक्रमणमा नेपालको कञ्चनपुरका विपिन जोशीसहितलाई हमासले बन्धक बनाएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलले अहिलेसम्म सूचीमा रहेका बन्धकहरूको स्थितिबारे हमासबाट कुनै टिप्पणी प्राप्त गरेको छैन । बन्धकहरूको सूची हमासद्वारा इजरायललाई प्रदान गरिएको थिएन तर इजरायलले जुलाई २०२४ मा मध्यस्थहरूलाई दिएको थियो ।”

मध्यस्थकर्ता कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले गाजा पट्टीमा इजरायल र हमासबिचको युद्ध अन्त्य गर्न महिनौंदेखि सम्झौता गर्ने प्रयास गरिरहेका छन् । हालैका दिनहरूमा दुवै पक्षका वार्ताकारहरूले दोहामा अप्रत्यक्ष वार्ता गरिरहेका छन् । हमास समूहले ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको समूहका एक वरिष्ठ अधिकारीले आइतबार राति एएफपीसँग बताए ।

“हमासले पहिलो चरणको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा इजरायलले दिएकोे सूचीबाट ३४ जना इजरायली कैदीहरूलाई रिहा गर्न सहमत भएको छ,” ती अधिकारीले भने।​​​​​​​ हमासका अर्का एक अधिकारीले नाम नबताउने शर्तमा भने, “प्रारम्भिक अदलाबदलीमा गाजामा रहेका सबै महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीलाई समावेश गरिनेछ ।”

यसका लागि हमासलाई आफ्नो अवस्था पत्ता लगाउन समय चाहिने उनले बताए ।

“हमासले जीवित वा मृत ३४ जना कैदीलाई रिहा गर्न सहमत भएको छ”, ती अधिकारीले भने, “यद्यपि, समूहलाई अपहरणकारीसँग कुराकानी गर्न र जीवित र मरेका  व्यक्तिहरूको पहिचान गर्न कम्तीमा पनि एक हप्ताको युद्धविराम हुनुपर्छ ।”

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूहरूले २५१ जना बन्धकहरूलाई कब्जामा लिएका थिए, जसमध्ये ९६ जना अझै पनि गाजामै रहेका र तीमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।