शीर्षकहरू

आजको मौसमः धेरै ठाउँमा दिउँसो वर्षाको सम्भावना

आजको मौसमः धेरै ठाउँमा दिउँसो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेको जनाएको  छ । पश्चिम तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज देशका धेरै ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा मधेश, लुम्बिनी तथा कर्णालीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।