काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरूलाई संविधान संशोधनमार्फत समाधान गर्ने प्रयास भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधनमाथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीका बीचमा भएको ठूलो अन्तरले मुलुकमा समस्याहरु आइरहेको बताए ।
उनले भने,‘मुलुकमा अहिले धेरै समस्या छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीको बीचमा ठूलो अन्तर छ । सबै समाधान संविधानमार्फत नै होस् भनेर संविधान संशोधन गर्न खोजिरहेको छौं । के कारणले आजको समस्या आएको छुट्याउन पर्नेछ । कति संविधानका अन्तरनिहित कमजोरीका कारणले भएको छन् र कति चाहिँ संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरुका कारणले समस्या आएको छ । त्यसलाई हेर्न आवश्यक छ ।’
त्यस्तै उनले सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहीँ पुग्न नसकिने धारणा राखे । उनले भने,‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र त्यो समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले कहीँ पुग्दैनौं जस्तो मलाई लाग्छ ।’