शीर्षकहरू

दूरसञ्चार प्राधिकरणका कर्मचारी २० दिनदेखि आन्दोलनमा, मोबाइल भन्सारमै अड्किँदा व्यवसायी मर्कामा

दूरसञ्चार प्राधिकरणका कर्मचारी २० दिनदेखि आन्दोलनमा, मोबाइल भन्सारमै अड्किँदा व्यवसायी मर्कामा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि मोबाइल फोन आयात श्रृंखला प्रभावित भएको छ ।

मोबाइल फोन आयातका लागि आयातकर्ताले दूरसञ्चार प्राधिकरणबाट मोबाइलको स्तर स्वीकृति (टाइप अप्रुभल) लिनुपर्छ । पछिल्लो २० दिनयता प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि व्यवसायीले टाइप अप्रुभल पाउन सकेका छैनन् । कर्मचारीको उक्त आन्दोलनका कारण मर्कामा आफूहरू परेको व्यवसायीहरूले बताएका छन् ।

कर्मचारी युनियनका कर्मचारीहरू प्राविधिक कर्मचारीहरूको लागि छुट्टै सेवा विनियमावली हुनुपर्ने, सेवासुविधा थप गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा छन् । कर्मचारी युनियनकी अध्यक्ष रञ्जिता पौडेलले आफूहरूले लामो समयदेखि राखेका माग पूरा गर्न नयाँ व्यवस्थापनले चासो नदेखाएपछि पेनडाउन गर्न बाध्य भएको बताइन् । 'हाम्रो माग दूरसञ्चारको हितकै लागि हो । पटक–पटक ताकेता गरे पनि नयाँ व्यवस्थापनले सम्बोधनका लागि चासो नदेखाएपछि पेनडाउन गरेर आन्दोलनमा उत्रिएका हौँ,' उनले भनिन् ।

युनियन र व्यवस्थापनबीच पटक–पटक वार्ता भए पनि वार्ता समाधानउन्मुख हुन सकेन । पछिल्लो समय मंगलबार मात्रै व्यवस्थापन र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता भएको थियो । तर सहमति हुन सकेन । 

प्राधिकरणका कर्मचारी र व्यवस्थापनबीचको लफडाका कारण आफूहरू अप्ठ्यारोमा परेको गुनासो व्यवसायीहरूले गरेका छन् ।

'प्राधिकरणका कर्मचारीहरूको आन्दोलनका कारण टाइप अप्रुभल लिन नपाउँदा फोन भन्सारबाट पास हुन सकेका छैनन् । बजारमा भएको स्टकमा केही मोडलहरू सकिन थालेका छन्,' एक मोबाइल व्यवसायीले भने । भन्सारमा थन्किँदा डिम्रेज शुल्क पनि थपिँदै गएको उनले बताए । सार्वजनिक भइसकेका नयाँ मोडल पनि नेपाल भित्र्याउन नपाउँदा यसले बजार प्रभावित भएको गुनासो उनको छ ।