शीर्षकहरू

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

सोलुखुम्बु । आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । 

भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

नेपालको उत्तर पूर्वी सीमानजिकै चीनको सिजाङ (तिब्बत) स्वशाषित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ७.० म्याग्नेच्युडको भूकम्प गएको हो । यसको पराकम्पन नेपालका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ र काठमाडौँलगायत जिल्लासम्म महशुस गरिएको थियो ।