काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई निरन्तर ज्यान मार्ने धम्की आउन थालेपछि सुरक्षाका लागि घरको बार्दलीमा बुलेट प्रुफ सिसा राखिएको छ । एनडीटीभीले स्रोतलाई उद्धृत गर्दै सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको बताएको छ । घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ ।
सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि निर्माणको काम चलिरहेको थियो । अहिले अपार्टमेन्टको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ गिलास देखिएका छन् । सलमान खान ग्यालेक्सी अपार्टमेन्टको भुईं फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा यस अपार्टमेन्टको पहिलो तल्लामा बस्छन् ।
८ महिनाअघि गत अप्रिल १४ मा बिहान ५ बजे सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ७।६ बोरको बन्दुकबाट ४ राउण्ड फायर भएको थियो । गोली चलाउनेहरू घरबाहिर राखिएको सिसिटिभी क्यामेरामा कैद भएका छन् । गोलीबारी सोही पर्खालमा भएको थियो, जहाँबाट केही टाढा सलमानको बालकनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउँछन्।
फरेन्सिक विज्ञहरूले घटनास्थलबाट एउटा जीवित गोली फेला पारेका थिए । लरेन्स समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो ।