काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार पनि नेप्से परिसूचक बढेको छ । यसदिन नेप्से ६.५३ अंकले बढेर दुई हजार ६५३.३८ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
नेप्से बढेको यो निरन्तर छैटौँ कारोबार दिन हो । गएको बुधबारदेखि आजसम्म नेप्से ७७.८६ अंकले बढेको छ । नेप्सेमा देखिएको सुधारसँगै विस्तारै बजारले गति लिन थालेको अनुमान लगानीकर्ताहरूको छ ।
बुधबार १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर बढ्दा ६ वटाको शेयरमूल्य घटेको छ । यसदिन कारोबारमा आएका २४२ कम्पनीमध्ये १३९ कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ कम्पनीको शेयर ओरालो लाग्दा ८ वटाको स्थिर छ ।
आज समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको शेयरमा सकारात्मक सर्किट लाग्दा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् ।
बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयर कारोबार भएको छ ।