काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।
एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेको थियो । ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई गएको शुक्रबार जिम्मेवारीबाट हटाएका थिए ।
सोमबार ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा प्रहरीले मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला बिहीबार मात्रै धरौटीमा छुटेकी थिइन् ।मोरङको धनपालथान-३ स्थित उमागौरी सहकारीको रकम ठगी प्रकरणमा मुछिएकी कोइराला बुधबार बुधबार जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।