शीर्षकहरू

रविका साझेदार छविलाल जोशीलाई पनि ८८ लाख धरौटीमा छाड्न आदेश

रविका साझेदार छविलाल जोशीलाई पनि ८८ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित उनका साझेदार पूर्वडीआईडी  छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश नितिज राईको इजलासले यस्तो आदेश दिएको हो । अदालतले रविसँग ६५ लाख धरौटी माग गरेकोमा जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस शुरु भएको थियो । उक्त मुद्दाका लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए ।

लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।