शीर्षकहरू

बलेफी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट, करिब १८ लाख कित्ता लिलामीमा आउने

बलेफी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट, करिब १८ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म निष्काशन तथा विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले सूचना जारी गर्दै रितपूर्वक आवेदन दिएका ५३ हजार ०५७ जनालाई १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद शेयर पुस २८ गते बाँडफाँट गरिएको जानकारी दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । पहिलो चरणमा १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर विक्री नभएको देखिन्छ । यस अवधिमा विक्री नभएको हकप्रद शेयर कम्पनीले दोस्रो चरणमा लिलामी प्रक्रियाबाट विक्री गर्नेछ ।

यो हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुका लागि कम्पनीले हकप्रद शेयर निष्काशन गरेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रबर्द्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा बिक्रेताहरुको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्काशन गरेको हो ।

यो हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।