काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका तर्फबाट बहस जारी छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस शुरु गरेका छन् ।
सम्भवत: यस मुद्दामा आज आदेश आउनेछ । गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परेका रवि गएको बिहीबार जिल्ला अदालत कास्कीको आदेशपछि धरौटी बुझाएर रिहा भएका थिए । उनी आइतबार आफैँ जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए । न्यायाधीश अधिकारीको इजलासमा आइतबार बयान सकिए पनि थुनछेक बहस सुरु नभएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको थियो ।
सोमबार रविविरुद्ध सरकार र जाहेरवाला तर्फका वकिलहरूले बहस गरेका थिए । बहस लम्बिएपछि उनलाई सोमबार पनि न्यायिक हिरासतमा पठाइएको थियो । मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दामा बाँकी बहस शुरु भएको हो ।