शीर्षकहरू

शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै पाँचथर पावरले बोलायो साधारण सभा

शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै पाँचथर पावरले बोलायो साधारण सभा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित माघ २४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । यस अघि पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियोे । सोही निर्णयलाई वार्षिक साधारण सभाबाट स्वीकृति प्रदान गर्ने तयारी कम्पनीले गरेको हो । सभा होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौंमा विहान ११ बजे बोलाइएको हो । 

माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । हकप्रद शेयर निष्कासन पछि पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आयोजना निर्माण तथा मर्मतका लागि लिइएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ । यस कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । गत असार २ गते आएको अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले आयोजनालाई क्षति पु¥याएको र सोको मर्मतका लागि थप कर्जा लिनुपरेको भनाई कम्पनीको छ । 


आयोजना पुनः सञ्चालनमा ल्याउन हाल आयोजनाको पुनः निर्माण कार्य भैरहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।