शीर्षकहरू

के अहिले सुन किन्ने उत्तम समय हो ? यस्तो छ विश्लेषकहरूको सुझाव

के अहिले सुन किन्ने उत्तम समय हो ? यस्तो छ विश्लेषकहरूको सुझाव

शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो । अघिल्लो दिन प्रतितोला एक लाख ३८ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्यमा लगातार चौथो दिन पनि गिरावट देखिएको हो ।

यसरी चार दिनमा प्रतितोला ४ हजार ९०० रुपैयाँले भाउ घटेको देखिएपछि धेरैले प्रश्न गर्न थालेका छन्- के अब सुनको दाम यसैगरी घट्ने हो ? के यसरी घटेको बेला सुन किन्नु बुद्धिमत्तापूर्ण निर्णय हुनसक्छ ? यहाँ यी नै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिएको छ ।

विश्व बजारमा साताअघि लगभग स्थिर झैँ देखिएको सुनको मूल्यमा अघिल्लो शुक्रबार एक्कासि उच्च वृद्धि देखियो।  चीनमा नयाँ आर्थिक प्रोत्साहनको घोषणाले सुनको भाउ यसरी बढ्दा इतिहासमा नै पहिलो पटक सुनको मूल्य प्रतिऔँस २४ सय अमेरिकी डलर भन्दा माथि उक्लियो ।

त्यसपछि, आइतबार इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको खबर सार्वजनिक भए लगत्तै सुनको मूल्यमा उच्च वृद्धि देखिएको थियो । जसले गर्दा सोमबार हालसम्म कै सर्वाधिक उच्च मूल्य प्रति औँस २४ सय २६ डलरमा अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार भयो ।

तर, जसै त्यो घटना स्वाभाविक दुर्घटना नै रहेको र त्यसमा कुनै विदेशी शक्तिको हात नरहेको भन्ने समाचारहरू आए सो वृद्धिमा फेरी शिथिलता छायो । यसरी चार दिनपछि अर्थात् हिजो बिहीबार सुनको मूल्य सोमबारको तुलनामा ९४ डलर प्रति औँसले सस्तो २३ सय ३२ डलरमा कारोबार भयो ।

यस्तो तीव्र उतारचढावको कारण हो- विश्वव्यापी मुद्रास्फीति, भू-राजनीतिक तनाव र डलरको मूल्यमा बढ्दो अस्थिरता । जसले विभिन्न जोखिम तर्फ इंकित गर्दा धेरै लगानीकर्ताहरू सुन र चाँदी जस्ता बहुमूल्य धातुहरूमा लगानी गर्ने र त्यहाँबाट पुँजी बाहिर निकाल्ने जस्ता काम गरिरहेका छन्।

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा गिरावट आएपछि अन्तर्राष्ट्रिय बजारमा भने फेरी मूल्य बढ्न थालेको छ । जसले गर्दा मूल्यमा लगातार चार दिनदेखि देखिएको गिरावट रोकिने देखिन्छ ।

सुनको मूल्यमा यस्तो घटबढ देखिएको बेला के गर्ने भन्ने बारे अन्तर्राष्ट्रिय मिडियालाई आफ्नो प्रतिक्रिया दिँदै विगत ५० वर्ष देखी बजार विश्लेषकका रुपमा सक्रिय रहेका अमेरिका स्थित  स्पार्टन क्यापिटल सेक्युरिटीजका प्रमुख बजार अर्थशास्त्री पिटर कार्डिलोले ‘लगानीकर्ताहरूले आफ्नो लगानी रणनीतिमा केही कुराहरू समावेश गर्नुपर्ने’ बताएका छन्।

उनले विभिन्न आर्थिक अनिश्चितताहरू विरुद्ध सुरक्षित लगानीका रूपमा भूमिका खेल्ने भएकाले आफ्नो लगानी पोर्टफोलियोमा सुनको प्रतिशत हुनु आवश्यक रहेको बताएका हुन्। विशेष गरी भूराजनीतिक मुद्दा, मुद्रास्फीति र बजारको अस्थिरता विरुद्धको सुरक्षाको रूपमा लगानीकर्ताहरूका लागि सुन मूल्यवान सम्पत्ति भएको विश्लेषकको विश्वास छ।

‘मलाई लाग्छ कि यो स्तरमा सुनको स्वामित्व पाउनु अझै धेरै अर्थपूर्ण छ’, कार्डिलोले एपोच टाइम्सलाई भनेका छन्। विश्लेषकको सुझाव छ कि अहिलेको स्तरमा सुन किन्नको लागि यो सही समय नहुन सक्छ, तर पोर्टफोलियोमा सुन नभएका लगानीकर्ताहरूले भने केही खरिद गरे हुन्छ। पहिले नै लगानी गरिसकेकाहरूका लागि हाल धेरै किन्नुको सट्टा होल्ड गर्ने सिफारिस उनले गरेका छन्।

‘मलाई विश्वास छ कि हरेक पोर्टफोलियोमा भूराजनीतिक समस्याहरू, मुद्रास्फीति र पक्कै पनि विश्व बजार प्रणालीमा अशान्ति ल्याउन सक्ने अन्य बजार अवस्थाहरू विरुद्ध कुनै न कुनै प्रतिशत हेज हुनुपर्छ’, कार्डिलोको भनाई छ । ‘मसँग पहिले नै सुन छ भने पक्कै पनि यो मूल्यमा थप सुन किन्न सक्दिन। म पुलब्याकको लागि पर्खनेछु, तर यदि कोही यसमा छैन भने निश्चित रूपमा किन्नु उपयुक्त हुन्छ।

‘सुनको बजार सधैँ हुन्छ। तपाईँले यसलाई बेच्न चाहनु भएको मूल्यमा नै त सधैँ बेच्न सक्नुहुन्न तर सधैँ सुनको खरिदकर्ता भने भेटाउनु हुन्छ’, कार्डिलोले भने, ‘सुन वास्तवमा पैसा हो। सुन भनेको ब्रह्माण्डमा एक मात्र चीज हो जुन वास्तवमा नै पैसा हो।‘