शीर्षकहरू

नेपालको बीमा क्षेत्रका लागि राज्यका सबै निकाय साथमा छन् : अध्यक्ष सिलवाल

नेपालको बीमा क्षेत्रका लागि राज्यका सबै निकाय साथमा छन् : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाले नेपालको बीमा क्षेत्रको विकासका लागि सरकारी सबै निकायको साथ रहेको बताएका छन् । मंगलबार प्राधिकरणको ५६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा प्राधिकरणले गरेको काम वा गर्न खोजेको काममा सरकारी निकायहरु, नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय, धितोपत्र बोर्ड साथमा रहेको छ ।’

बीमकहरुको जोखिम बहन क्षमता बढाउन, पुँजीगत आधार बलियो बनाउन, संस्थागत सुशासन कायम गरी बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउन प्राधिकरणले काम गरिरहेको बताए । बीमितको जीवन तथा सम्पत्तिको आर्थिक सुरक्षालाई प्रभावकारी बनाउन चुक्तापुँजी वृद्धि गर्ने प्राधिकरणको निर्णयले बीमा कम्पनीहरु मर्जर तथा प्राप्ति भएकोले बीमकहरुलाई थप सशक्त बनाएको अध्यक्ष सिलवालको भनाइ छ ।साथै, बीमा क्षेत्रको लगानीयोग्य रकम मूलुकको सर्वपक्षिय विकासका कामहरुमा लगानी गर्न, विदेशी मुद्राको बर्हिगमन रोक्न तथा पुनर्बीमकहरुको पूँजीगत आधार बलियो बनाएको दावी समेत उनले गरे । 

त्यस्तै, कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडलले बीमा क्षेत्रको विकासका लागि प्राधिकरणले गरेका कामहरु फलदायी भएको बताएका छन् । बीमा क्षेत्रका कम्पनीको पुँजी वृद्धि लगायतका योजना सफलता पूर्वक सम्पन्न गरेको र बीमा क्षेत्रमा जोखिम बहन गर्न सक्ने क्षमताको विकास गर्दै गएको धारणा राखेका थिए । उनले भने, ‘नेपालमा बीमा क्षेत्रमा भुक्तानी नदिने वा बीमा क्षेत्रको विश्वसनियता कम भएको भन्ने धारण विस्तारै कम हुँदै गएको छ । बीमा कम्पनीहरुले जोखिम बहनका लागि आफैले व्यवस्थापन गर्दै गइरहेकाले नेपालको बीमा क्षेत्रप्रति अब भरोसा गर्न सकिने स्थान बन्दै गएको छ ।’

सोहि कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बीमा प्राधिकरणले बीमाको क्षेत्र विस्तारका लागि गरेको कामले आज नेपालको बीमा क्षेत्रले प्रगति गरेको दावी गरे । उनले भने, ‘बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणले समग्र बीमा क्षेत्रका लागि सहि अभिभाकत्व निर्वाह गरेकाले यो क्षेत्रले आज फड्को मार्न सेकेको हो ।’

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विमक संघका अध्यक्ष तथा सलिको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले बीमा व्यवसाय व्यवसायीक हुनुमा नियामकीय भूमिकामा रहेको प्राधिकरणले सहजिकरणको भूमिका महत्वपूर्ण रहेको बताए ।