शीर्षकहरू

नयाँ ब्रोकर कमिसन आजदेखि लागू, पहिलेभन्दा १० प्रतिशत कम

नयाँ ब्रोकर कमिसन आजदेखि लागू, पहिलेभन्दा १० प्रतिशत कम

काठमाडौं । आजदेखि नयाँ ब्रोकर कमिसन लागू भएको छ । नेपाल धितोपत्र बोर्डले साविकको ब्रोकर कमिसनमा १० प्रतिशत घटाएर लागू गरेको हो । 

तीन वर्षपछि ब्रोकर कमिसन घटेको हो । यस अघि २०७७ साल पुस १२ गतेदेखि लागू हुने गरी बोर्डले ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो । बोर्डले त्यसको ३ वर्ष पाँच महिनापछि पुनः ब्रोकर कमिसनमा अधिकतम शून्य दशमलव ४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर शून्य दशमलव ३६ प्रतिशत र शून्य दशमलव २७ प्रतिशतको तल्लो सीमालाई घटाएर शून्य दशमलव २४ प्रतिशत कायम गरी लागू गरेको हो ।

यसअघि ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ४० प्रतिशत, ५० हजारभन्दा माथी ५ लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाख रूपैयाँभन्दा माथी २० लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै, २० लाख रूपैयाँभन्दा माथी १ करोड रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोड रूपैयाँभन्दामाथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशतसम्म कमिसन लाग्ने व्यवस्था छ ।

आजदेखि लागू भएको नयाँ ब्रोकर कमिसन अनुसार ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ३६ प्रतिशत, ५० हजार रूपैयाँभन्दा माथी ५ लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, ५ लाख रूपैयाँभन्दा माथी २० लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत तिर्नुपर्नेछ । त्यस्तै २० लाख रूपैयाँभन्दा माथी १ करोड रूपैयाँसम्मको कारोवारमा शून्य दशमलव २७ प्रतिशत र १ करोड रूपैयाँभन्दामाथिको कारोबारमा शून्य दशमलव २४ प्रतिशतसम्म कमिसन लाग्नेछ ।