शीर्षकहरू

सिटिजन लाइफको खुद नाफा ८७ प्रतिशतले बढ्यो

सिटिजन लाइफको खुद नाफा ८७ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ करोड १३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८७ दशमलव ३५ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १५ करोड १ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको कुल आम्दानी १४ दशमलव ४१ प्रतिशत बढेको छ भने कुल खर्च करिब १२ प्रतिशत बढी भएको छ । गत वर्ष ४ अर्ब ५५ करोड ९४ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ५ अबृ २१ करोड ६४ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । कुल खर्च भने गत वर्ष ४ अर्ब ४० करोड रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४ अर्ब ९३ करोड ५१ लाख रूपैयाँभन्दा बढी भएको छ ।

यो ९ महिनामा कम्पनीले ३ अर्ब ९९ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा भने यो वर्ष खुद बीमाशुल्क आर्जन रकम ७ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३ अर्ब ७२ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९३ करोड ७५ लाख रूपैयाँ छ । शेयर प्रिमियममा १ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको महाविपत्ती कोषमा १६ करोड ५३ लाख रूपैयाँभन्दा बढी छ । रिटर्न अर्निगमा ६३ करोड १७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अदर इक्वीटीमा ६३ करोड २४ लाख रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ९ रूपैयाँ ५३ पैसा र प्रतिशेयर नेटवर्थ १७५ रूपैयाँ ७२ पैसा छ ।