शीर्षकहरू

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् आजका सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् आजका सम्भावित कार्यसूची

काठमाडौं । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बैठक सुरु गर्ने कार्यतालिका छ । 

सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्तलाई बैठकलाई मंगलबार गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूची छ । सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको कार्यसूची पनि आजको बैठकमा राखिएको छ । जसमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७२ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् ।

यस्तै राष्ट्रपतिले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको गरेको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबुल गर्ने कार्यक्रम आजको सम्भावित कार्यसूचीमा राखिएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्ने कार्यक्रम पनि आजको कार्यसूचीमा राखिएको छ । 

यस्तै लगानी सम्मेलनअघि राष्ट्रपतिद्वारा पारित गानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश, २०८० लाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संसद्‌मा पेस गर्नेछन् । उद्योगमन्त्री भण्डारीले नै  सभामा उत्पत्ति भएको 'विद्युतीय व्यापार विधेयक, २०८०' लाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची आजको बैठकको छ ।

यसैगरी कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले 'राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०' माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची आजको बैठकमा छ ।

यद्यपि, गृहमन्त्री लामिछानेको समेत नाम जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । कांग्रेसले आजको बैठक पनि अवरोध गर्ने तयारी गरेको छ ।