शीर्षकहरू

उत्खनन् र अनुसन्धानको पर्खाइमा २६ सय वर्ष पुरानो मन्दिर

उत्खनन् र अनुसन्धानको पर्खाइमा २६ सय वर्ष पुरानो मन्दिर

सर्लाही । धार्मिक पर्यटनको प्रसस्त सम्भावना बोकेको सर्लाहीको बरहथवा नगरपालिकास्थित मुक्तेश्वर महादेव मन्दिर उत्खनन्‌ र अनुसन्धानको पर्खाइमा रहेको छ । बरहथवा नगरपालिका–९, मूर्तियामा रहेको ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा गुमनाम बनेको हो । दुई हजार छ सय वर्ष पुरानोे इतिहास बोकेको मन्दिर बजेट अभावले संरक्षणमासमेत चुनौती थपिएको छ । बजेट अभावमा पुनःनिर्माण हुन नसक्दा मन्दिर अलपत्र बनेको हो । मन्दिर परिसरमा रहेका ऐतिहासिक संरचनासमेत जीर्ण अवस्थामा पुगेका वडाध्यक्ष तुलसीप्रसाद लुइँटेलले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गबाट १० किलोमिटरको दुरीमा रहेको यस मन्दिर निकै पुरानो रहेको स्थानीयले बताउने गरेका छन् । यस मन्दिरमा दैवीशक्ति रहेको स्थानीय बिमला कार्कीको भनाइ छ । विशेष गरेर यस मन्दिरमा साउनको सोमबार र शिवरात्रिमा भक्तजनको बाक्लो घुइँचो लाग्ने गरेको छ । उक्त समयमा मन्दिर दर्शनका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजन आइपुग्ने गरेका छन् ।

ऐतिहासिक मुक्तेश्वर मन्दिर लगभग दुई हजार छ सय वर्ष पुरानो भएको वडाध्यक्ष लुइँटेलले बताए । विभिन्न दस्तावेजमा उल्लेख भएअनुसार दुई हजार छ सय वर्ष पहिला भक्तपुरको तलेजु भवानी मन्दिरसँगै गयासुद्घिन भन्ने भारतका शासकले यस मन्दिर पनि भत्काइदिएका थिए । तलेजु भगवतीको मन्दिर भत्काएर फर्कने क्रममा बाटोमा रहेको यस मन्दिरसमेत ध्वस्त बनाइदिएको स्थानीय जानकारको भनाइ छ । बरहथवा नगरपालिका–९ का स्थानीय ८२ वर्षीय चन्द्रनिधि तिवारीले तत्कालीन अवस्थामा यस क्षेत्र चीन र भारत वर्षको व्यापारिक केन्द्र सुवर्णग्राम सहरको रुपमा रहेको कौटिल्य अर्थशास्त्रमा उल्लेख रहेको दाबी गरे । गयासुद्घिनले मन्दिर र सहरमा आक्रमण गरेपछि यस क्षेत्र जङ्गलमा परिणत भएको उनको भनाइ छ । यस मन्दिर आसपासमा अझै पनि बुद्धकालीन इँटा फेला पर्ने गरेको स्थानीयको भनाइ छ ।

मन्दिर परिसरमा रहेका संरचनामध्ये मूल मन्दिरको पुरातत्व विभागले पुनः निर्माण गरेको थियो । सोही क्रममा मन्दिरमा प्रयोग भएको कलात्मक ढुङ्गामा दुई हजार छ सय वर्ष पुरानो बोलीचालीको भाषाको ब्रह्म लिपि फेला परेको हो । पुरातत्व विभागका योजना शाखा प्रमुख रामबहादुर कुँवरको नेतृत्वमा भएको उत्खनन्‌ तथा पुनःनिर्माणका क्रममा ढुङ्गाको ब्लकमा ब्रह्म लिपि अर्थात् पाली भाषामा कुँदिएको सामग्री फेला परेको थियो । ‘‘मन्दिर बनाउन प्रयोग गरेको ढुङ्गामा पाली भाषामा लेखिएको भेटियो,’ वडाध्यक्ष लुइँटेलले भने, ‘काम गर्ने मन्दिर बनाउने कर्मीले पक्कै त्यतिबेलाको बोलिचालीको भाषा नै ढुङ्गामा कुँदेको हुनुपर्छ । यसले पनि यो मन्दिर ऐतिहासिक हो, भन्ने पुष्टि गरेको छ ।’ यस क्षेत्रमा चार फिट गहिरो खन्ने वित्तिकै आठ/आठ, ११/११, १२/१२ साईजका बुद्धकालीन इँटाले लेआउट गरेको फेला पर्ने गरेको स्थानीय रामकुमार नेपालले बताए ।

यसरी ध्वस्त बनाइएको यस ऐतिहासिक मन्दिरको तीन किलोमिटर दक्षिणमा लौकठ, हीरापुर लगायतको गाउँ रहेको थियो । उक्त गाउँमा बागमती, सोती लगायतका स्थानीय खोलाको बाढी पसेपछि २०११ सालमा स्थानीय यस मन्दिर नजिकै बसाइ सरेका थिए । गाउँ बढ्दै जाँदा यस मन्दिरको संरचना फेला परेको स्थानीय ७४ वर्षका कृष्ण कडरियाले जानकारी दिए । त्यसपछि मन्दिरमा भक्तजनको आवतजावत सुरुभएको थियो ।

विसं २०२२ मा स्थानीयको पहलमा मन्दिर क्षेत्र सरसफाइ तथा यत्रतत्र रहेका मन्दिरका मूर्ति, गजुर लगायतका सामान जम्मा गरेर मन्दिर स्थापना गरिएको कडरियाले बताउनुभयो । मन्दिरको तीन सय मिटरदेखि, तीन किलोमिटरको दुरीमा समकालीन चक्रेश्वर महादेव मन्दिर, गणेश मन्दिर, कटकुइया (काठको पानी खाने डुँड), पोखरी, गुलरिया ताल, किसनपुर पोखरी, ब्रह्मनाल गुफा लगायतका संरचना अहिले पनि छन् । यी संरचना संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेको वडाध्यक्ष लुइँटेलले बताए । मन्दिर परिसरमा रहेको १० फिट गहिरो ४२ फिट लामो सुरुङसमेत संरक्षण हुन नसक्दा भत्किने अवस्थामा पुगेको छ ।

बजेट अभावले उत्खनन्‌ र पुनःनिर्माण अलपत्र
बजेट अभावमा यस मन्दिर क्षेत्रको उत्खनन्‌ र पुनःनिर्माण पूरा हुन नसकेको बरहथवा नगरपालिकाले जनाएको छ । ठूलो धनराशि लाग्ने भएपछि मन्दिर क्षेत्रको पहिलो चरणको पुनःनिर्माण गरेर अरु त्यसै छाडिएको छ । स्थानीय तहको पहलमा २०७२/७३ देखि मन्दिरको मुख्य संरचनाको पुनः निर्माण सुरु भएको थियो ।

दुई पटक गरेर पुरातत्व विभागले पहिलो पटक रु एक करोड र दोस्रो पटक रु पाँच करोड ३२ लाख लगानीमा मूल मन्दिरको पुनःनिर्माण गरेको हो । विभागले सात वर्ष लगाएर मन्दिरको पुनःनिर्माण तथा उत्खनन्‌ गरेको थियो । पहिलो चरणमा भाष्करराज र दोस्रो चरणमा विभागका योजना शाखा प्रमुख कुँवरको नेतृत्वमा मन्दिरस्थलमा उत्खनन्‌ र पुनःनिर्माण भएको हो । बजेट अभाव भएपछि अन्य संरचना यसै छोडेर टोली फर्किएको थियो । यस क्षेत्रको अन्य संरचनासमेत निकै ऐतिहासिक रहेकोले उत्खनन्‌ र पुनःनिर्माण आवश्यक रहेको योजना प्रमुख कुँवरले बताएको वडाध्यक्ष लुइँटेलको भनाइ छ ।

विभागले गरेको अनुसन्धानबाट लुम्बिनीको मायादेवी मन्दिरमा फेला परेकै भाषा र जमिनमुनिको इँटा यस मुक्तेश्वर मन्दिर परिसरमा पनि फेला परेको हो । यस अर्थमा पनि यो मन्दिरको संरचना पनि समकालीन रहेको दाबी गरिएको छ । यस मन्दिरको संरचना पुनःनिर्माण तथा यस क्षेत्रको उत्खनन्‌का लागि पुरातत्व विभाग बाहेक कतैबाट बजेटको व्यवस्था नभएको नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालले बताए ।

बजेट नभएकै कारण धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको यस मन्दिरको प्रचारप्रसार तथा संरक्षण र पुनःनिर्माणका बाँकी काम अलपत्र परेको उनको भनाइ छ ।